कैलालीको लम्किचुहा नगरपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लम्किचुहा अस्पतालका विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था सेवा कार्यालय, बलियाको कार्यालय उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीले दिएको भनाइलाई भ्रामक, तथ्यहीन र द्वन्द्व उक्साउने खालको भएको ठहर गरेको हो।
नगर प्रमुख सुशीला शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकारको अधिकार, कानुनी प्रक्रिया र जनभावना मिचेर गरिने एकपक्षीय तथा बलमिचाइँपूर्ण निर्णय नगरपालिकालाई कदापि स्वीकार्य नहुने उल्लेख गरिएको छ। कुनै पनि समझदारी पत्र (MoU) र कानुनी आधार बिना नै नगरपालिकाको सम्पत्ति, संरचना र जनशक्ति प्रदेशले नियन्त्रणमा लिन खोज्नु र आर्थिक भार स्थानीय तहमाथि थोपर्नु सङ्घीयता र स्थानीय स्वायत्ततामाथिको प्रत्यक्ष हस्तक्षेप भएको नगरपालिकाको दाबी छ।
अस्पतालको विषय हाल सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जिम्मेवार पदमा बसेका व्यक्तिले सार्वजनिक मञ्चबाट भ्रम फैलाउनु र जनता उक्साउनु संवैधानिक मर्यादा र कानुनी शासन विपरीत भएको विज्ञप्तिमा जनाइएको छ। नगरपालिकाले यस्तो गैर जिम्मेवार कदमले अस्पतालको सेवालाई झन् अन्योलग्रस्त बनाउने भन्दै घोर आपत्ति र कडा खेद प्रकट गरेको छ।
समस्या समाधानका लागि नगरपालिका सधैँ सकारात्मक रहेको स्पष्ट पार्दै विज्ञप्तिमा भनिएको छ, “कर्मचारी व्यवस्थापन, स्पष्ट कार्य ढाँचा र सम्मानजनक सहमतिका लागि प्रदेश सरकारले वार्तामा बोलाए २ दिनभित्रै समस्या समाधान गरी अस्पताल सञ्चालन गर्न नगरपालिका तयार छ।” अन्यथा स्थानीय सरकारको अधिकार मिच्ने र मुद्दालाई राजनीतिकरण गर्ने कार्य जारी रहेमा कानुनी, प्रशासनिक र जनस्तरका सबै वैधानिक विकल्प प्रयोग गर्न बाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने चेतावनी दिइएको छ।

साथै अधिनायकवादी शैलीमा भ्रम फैलाएर अस्पताल परिसर, कर्मचारी वा सर्वसाधारणमाथि कुनै हिंसात्मक घटना भएमा त्यसको नैतिक र राजनीतिक जिम्मेवारी मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले लिनुपर्ने नगरपालिकाको ठहर छ। स्थानीय स्वायत्तताको सम्मान गर्दै कानुनी प्रक्रियाबाट अघि बढ्न आग्रह गर्दै नगरपालिकाले आम नागरिकलाई भ्रामक प्रचारको पछि नलाग्न र गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतामा अडिग रहेको स्पष्ट पारेको छ।





Comments
Latest Comments