कैलालीको घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको वर्गीकरण गरेको छ । पालिका भित्र सञ्चालनमा रहेका ३१ वटा विद्यालयहरूलाई ख, ग र घ श्रेणीमा वर्गीकृत गरी सुल्क समेत निर्धारण गरेको छ ।
घोडाघोडीमा लामो समय देखी पठनपाठन गर्दै आएका र नाम चलेका विद्यालयहरू ‘ख’ श्रेणीमा अटाएका छन् । नगरपालिकाले गरेको मूल्याङ्कनका आधारमा ‘ख’ श्रेणीमा माध्यमिक तह अन्तर्गत घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय सुखड, सप्तश्री माध्यमिक विद्यालय सुखड, कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पहलमानपुर, पायोनियर्स स्कलर्स एकेडेमी पहलमानपुर, लिटिल एन्जलस इङ्लिस बोर्डिङ स्कुल सुखड र न्यु स्टार इङ्लिस बोर्डिङ स्कुल सुखड रहेका छन् । त्यस्तै आधारभूततर्फ चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डिङ स्कुल सुन्दरपुर रहेको छ।
नगरपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार ‘ख’ श्रेणीका लागि प्रतिस्पर्धा गरेका विद्यालयहरू मध्ये सप्त श्री माध्यमिक विद्यालय र कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल समान ८७ अङ्कका साथ शीर्ष स्थानमा रहेका छन् । यस्तै लिटिल एन्जलस इङ्लिस बोर्डिङ स्कुल, पायोनियर्स स्कलर्स एकेडेमी र चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डिङ स्कुल समान ८५ अङ्कका साथ दोस्रो स्थानमा छन् भने घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय सुखड ८३ अङ्क सहित तेस्रो स्थानमा छ ।

न्यु स्टार इङ्लिस बोर्डिङ स्कुल सुखड भने ‘ख’ श्रेणी तालिकाको पुछारमा छ । उसले नतिजामा ८२ अङ्क प्राप्त गरेको छ । नगरपालिकाका अनुसार ६ वटा विद्यालय ‘ग’ वर्गमा र १८ वटा विद्यालय ‘घ’ वर्गमा परेका छन् ।

शैक्षिक गुणस्तर सुधार तथा शुल्कमा एकरूपता ल्याउने उद्देश्यले नगरपालिकाले विद्यालय वर्गीकरणको अवधारण अघि सारेको थियो । मूल्याङ्कनमा शैक्षिक उपलब्धि अंकभार २५, भौतिक पूर्वाधार अंकभार २५, शिक्षक व्यवस्थापन अंकभार २५, पाठ्यक्रम तथा पाठ्यसामग्री अंकभार १५ र अन्य व्यवस्थापन अङ्क भार १० निर्धारण गरी पाँच शीर्षकमा कुल १०० अङ्क निर्धारण गरिएको थियो ।
नगरपालिकाले विद्यालय वर्गीकरणसँगै शुल्क समेत निर्धारण गरेको छ । नगरपालिकाका अनुसार ‘ख’ वर्गका विद्यालयले नर्सरीमा २,२०० देखी कक्षा १० मा ३,८५० सम्म मासिक शुल्क लिन पाउनेछन् । यस्तै ‘ग’ वर्गका विद्यालयले नर्सरीमा १,९०० देखी कक्षा १० मा ३,५५० सम्म शुल्क लिन पाउने भएका छन् । ‘घ’ वर्गमा परेका विद्यालयका लागि भने नर्सरीमा १,६०० देखी कक्षा १० मा ३,२५० सम्म शुल्क निर्धारण गरिएको छ ।

नगरपालिकाले गरेको वर्गीकरणले विद्यालयहरूको वास्तविक अवस्था पहिचान हुने, गुणस्तर सुधारका योजना निर्माण गर्न सहयोग पुग्ने, अभिभावकलाई विद्यालय छनोट गर्न सहज हुने, विद्यालयहरूमा एकरूपता कायम हुने तथा मनोमानी शुल्क नियन्त्रण हुने अपेक्षा गरिएको छ ।





Comments
Latest Comments