कञ्चनपुरमा नाबालकलाई मरणासन्न हुने गरी कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका-५ का ११ वर्षीय लोकेश भनिने राजेश भण्डारीलाई तरकारी चोरेको भन्दै कुटपिट गर्ने सोही ठाउँका ३६ वर्षीय भोज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रहरीका अनुसार उनी विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भई सात दिनको म्याद थप भएको छ । “लोकेश भनिने राजेश भण्डारी नदी किनारमा क्रिकेट खेलिरहेको रहेछ । खेल्ने क्रममा बल भोज नाथको तरकारी बारीमा गएछ । लोकेशले सो बल ल्याएर आउँदा तैँले तरकारी चोरिस् भन्दै नाथले अनायासै कुटपिट गरेछन् । नदी किनारमा कुटपिट गरेका नाथले घरमा आएर पनि बालकाको हातखुट्टा बाँधेर फेरि कुटपिट गरि यातना दिएको भन्ने पीडितको बयानबाट खुल्न आएको छ । आरोपित अहिले हिरासतमा छन् । घटनाको थप अनुसन्धान हुँदै छ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेम शाहीले भने । 

पीडित बालकाको उपचार पछि परिवारको जिम्मा लगाइएको छ । बालकका बाबुआमा कामको सिलसिलामा बाहिर छन् । उनी मामाघरमा बस्दै आएका छन् ।