कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित बौनिया बजारमा अत्याधुनिक प्रविधि र सेवा सुविधा सहितको नयाँ सार्वजनिक शौचालय निर्माण भएको छ । बर्दगोरिया गाउँपालिकाको समन्वय तथा अगुवाइमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कैलालीले शौचालय निर्माण गरेको हो ।
शौचालयको लागत स्टिमे एक करोड भए पनि निर्माण व्यवसायीले ७२ लाख लागतमा निर्माणको जिम्मा पाएको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कैलालीका प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए । दुई तला रहेको शौचालय भवनको तल्लो तलामा महिला, पुरुष तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै शौचालय र कक्षहरूको व्यवस्था गरिएको छ । यो शौचालय पूर्ण रूपमा सेन्सर जडित रहेको छ, जसले गर्दा सरसफाइ र प्रविधिको प्रयोगलाई निकै सहज बनाउने अपेक्षा गरिएको छ ।

विशेष गरी महिलाहरूको स्वास्थ्य र सहजतालाई ध्यानमा राख्दै शौचालय भित्र मेसिनले आफै सेनेटरी प्याड दिने आधुनिक व्यवस्था समेत मिलाइएको छ । यसै गरी शौचालय भवनको माथिल्लो तलामा विभिन्न सार्वजनिक कार्यक्रम, बैठक वा छलफलहरू सञ्चालन गर्न मिल्ने गरी एउटा ठुलो हल समेत निर्माण गरिएको छ ।
व्यस्त बौनिया बजार क्षेत्र र राजमार्ग आसपासमा शौचालय नहुँदा व्यापारी, बजार आउने उपभोक्ता र लामो दुरीका यात्रुहरूले निकै सास्ती व्यहोर्नुपरेको थियो । नयाँ र बहु उपयोगी संरचनाको निर्माणसँगै बर्दगोरिया क्षेत्रको सार्वजनिक सरसफाइ र स्वच्छतामा ठुलो सुधार आउने विश्वास स्थानीयवासीले गरेका छन् ।






Comments
Latest Comments
No comments yet.