कैलालीमा रहेको लम्कीचुहा उद्योग वाणिज्य सङ्घको ८औँ वार्षिक साधारण शनिवार सभा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष पदमराज चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी उप–मेयर जुना चौधरी रहेकी थिइन भने विशिष्ट अतिथिमा उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर रहेका थिए । 

यस्तै कार्यक्रममा लम्कीचुहा १ का अध्यक्ष नेत्र प्रसाद खनाल, २ का अध्यक्ष सन्तोष ओली, ३ का अध्यक्ष लवबहादुर शाही, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका उपनिर्देशक हरि पौडेल, टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा केन्द्रीय सदस्य सन्तोष खड्का, लम्कीचुहा उद्योग वाणिज्य सङ्घका संस्थापक उपाध्यक्ष रामबहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो । 

सङ्घको यो चुनावी साधारण सभा भएकाले पनि सबैको चासो बढेको छ । यद्धपी अध्यक्ष र कोषाध्यक्ष बाहेकका पदमा सहमति जुटिसकेको निर्वाचन समितिले जानकारी दिएको छ । अध्यक्षमा दीपक तिमिल्सेना र खडानन्द सापकोटाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा अमित भण्डारी र तपेन्द्र ढकालको उम्मेदवारी परेको छ । यी दुई पदका लागि भर्खरै मतदान सुरु भएको छ । विगतमा हजार बढी मतदाता रहेको सङ्घमा यस पटक भने ३ सय ५८ जना मात्रै मतदाता रहेका छन् ।