कैलालीको लम्कीचुहा  नगरपालिकाकी उप–मेयर जुना चौधरीले व्यवसायीहरूलाई प्रोत्साहन गर्न तथा व्यवसायमा टिकाइराख्न महत्त्वपूर्ण नीति निर्माण गरेको बताएकी छन् । लम्कीचुहा उद्योग वाणिज्य सङ्घको ८औँ साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले विस्थापित हुन थालेका व्यवसायीहरूलाई स्थापित गर्न आफू लागि परेको बताइन । 

“व्यवसायको नामका पछाडि सप्लायर्स र ट्रेडर्स लेख्नासाथ ११ हजार कर तिर्नुपर्ने बाध्यता थियो । मेरै नेतृत्वमा नामका आधारमा नभई लगानीका आधारमा राज्यलाई कर तिर्नुपर्ने मापदण्ड बनायौ । म आफै राजस्व परामर्श समितिको प्रमुख पनि हुँ । मेरै अध्यक्षतामा बसेको बैठकले यसलाई स्वीकृत ग¥यो । यो निर्णयले व्यवसायीहरूको व्यवसाय सञ्चालन गर्न तर्फ आकर्षण बढेको छ ।” उनले भनिन् । 

यस्तै लामो समय राज्यलाई कर नतिरेर जरिवानामा परेका व्यवसायीहरूलाई पनि आफूले महत्त्वपूर्ण सहयोग पुग्ने काम गरेको उनको भनाई छ । उनका अनुसार धेरै वर्ष सम्म कर नतिर्दा कर भन्दा बढी जरिवाना तिर्नुपर्ने अवस्था सृजना भई व्यवसायी नै व्यवसाय बन्द गरेर पलायन हुने मनसायमा पुगेका थिए । आफ्नो नेतृत्वमा त्यस्ता व्यवसायीको जरिवाना घटाएर व्यवसायलाई निरन्तरता दिन मदत गरेको उनको दाबी छ । 

फरक प्रसङ्गमा बोल्दै उनले उद्योग वाणिज्य सङ्घ प्रति कसैको माया नदेखिएको र आफू व्यवसायी भए पनि मताधिकारबाट वञ्चित हुनु परेको भन्दै दुःख व्यक्त गरिन । “आजको उपस्थिति देखेर मलाई नमजा लागेको छ । यो उपस्थिति सारै कम भयो । हाम्रो क्षेत्रमा हजार भन्दा बढी व्यापारी छन् । तर ३ सय ५८ जना मात्रै मतदाता यो कसरी भयो ?” उनले भनिन् । आफू विगतमा मतदाता भए पनि यस पटक छुटाइएको प्रति असन्तुष्टि जनाइन । “यस पटक म आफै मत हाल्नबाट वञ्चित भए । मेरो आफ्नो पनि कमजोरी होला । समय दिन सकिन होला । पहिला राधिका तिमिल्सेना बहिनी पसलमै पुगेर नवीकरण गर्न भन्नु हुन्थ्यो । यस पटक नवीकरणको जानकारी नै पाएन ।” उनले थपिन । 

यता उद्योग वाणिज्य सङ्घका महासचिव पुष्पराज ढकालले यस पटक कसैलाई पनि नवीकरणमा बल नगरेको प्रतिक्रिया दिएका छन् । लिस्ट ल्याएर आउने र पैसा हुनेले नवीकरण गरी भोट बटुल्ने विगतको अभ्यास थियो । ढकालले भने,… “यस पटक हामीले त्यसलाई रोक्न नवीकरणमा बल गरेनौ अथवा पसल/पसल गएनौ । संस्था प्रति थोरै माया हुनु प¥यो, व्यवसायी आफै आएर नवीकरण गर्नु प¥यो भनेर हामीले यस्तो गरेका हौ ।”