कैलालीको गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीचको विवाद थप चर्किएको छ । कर्मचारीहरूले आफ्ना मागहरूको सुनुवाइ नभएको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी समेत दर्ता गरेका छन्।
कर्मचारीहरूले गत वर्षको बजेटबाट वृद्धि गरिएको महँगी भत्ता तत्काल कार्यान्वयन गर्न, नेपाल सरकारले आइतबार दिने सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्न वा त्यसबापत सट्टा बिदा अथवा अतिरिक्त भत्ता उपलब्ध गराउन तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी आवश्यक जनशक्ति, दरबन्दी र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै आएका छन् ।

माग सम्बोधन नभएको भन्दै उनीहरूले जेठ ४ गते अस्पताल प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दी समेत गरेका थिए । आन्दोलनरत कर्मचारीहरूले प्रशासनले समस्या समाधान गर्नुको सट्टा पटकपटक स्पष्टीकरण सोधेर मानसिक दबाब र त्रासको वातावरण सिर्जना गरेको आरोप लगाएका छन् ।
यसै विषयमा परेको उजुरीपछि राष्ट्रिय मानव अधिकार आयोगले अस्पताल प्रशासनसँग घटनाबारे जानकारी माग्दै पत्राचार गरेको छ । यता अस्पताल प्रमुख सुरेशराज पन्तले भने कर्मचारी र प्रशासनबीचको विवाद समाधान भइसकेको दाबी गरेका छन् । कर्मचारीलाई बारम्बार स्पष्टीकरण सोधिएको आरोपबारे उनले अस्पतालको नियम र कार्यविधिअनुसार नै स्पष्टीकरण मागिएको बताएका छन् । अस्पतालभित्रको श्रम सम्बन्धी विवाद मानव अधिकार आयोग सम्म पुगेपछि गेटा आँखा अस्पतालको आन्तरिक व्यवस्थापन र कर्मचारी–प्रशासन सम्बन्धबारे नयाँ बहस सुरु भएको छ ।






Comments
Latest Comments
No comments yet.