कैलालीकी एक युवती र पर्साका एक युवक काभ्रेमा मृत फेला परेका छन् । पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरी घर भएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक शक्ति राम सहित युवती मृत फेला परेकी हुन ।

मृतक युवती कैलालीको घोडाघोडी नगरपालिका– १ की २६ वर्षकी शर्मिला चौधरी हुन । उनी गएको वैशाख १९ गते गणबाट २ दिनको बिदा लिएर हिँडेका राम सहित बुधबार बिहान काभ्रेको पाँचखाल नगरपाािलका ३ ठुली सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरु एकै स्थानको अलग अलग रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन । मृतक रामलाई सम्पर्कबिहीन रहेको भन्दै परिवारले नै खोजतलासका लागि निवेदन समेत दिएका थिए ।

मृतक शर्मिलाका भाइ रन्जित चौधरीले पनि २०८३ वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासको लागि निवेदन दिएका थिए । प्रहरी वृत्त बालाजुबाट खोजतलास हुँदा शर्मिला चौधरीको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोकमा देखिएको थियो । बुधबार मौवाको २ ओटा रुखमा महिला र पुरुषको जस्तो देखिने सडेगलेको दुई वटा कंकाल मात्र झुण्डिरहेको भन्ने खबर प्रहरीलाई स्थानीयले दिएका थिए । त्यसपछि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शक्ति राम र उनकी साथी शर्मिला रहेको पहिचान गरेको थियो ।