कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । पालिका अन्तर्गत वडा नम्बर १ को आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार शनिवार आमा समूह, कृषक समूह तथा कृषि सहकारीहरूका पदाधिकारीहरूलाई लेखा व्यवस्थापन तालिम दिइएको हो ।
ज्ञानका अभावमा लेखा व्यवस्थापन प्रणाली लागु नभएका तथा व्यवस्थित नभएको समूहहरूका लागि लक्षित गरी तालिम सञ्चालन गरिएको र यो तालिम उपलब्धिमूलक हुने वडा अध्यक्ष मिथुन गौतमले बताए । “हामी कहिलेकाहीँ समूहको अनुगमनमा जाँदा त्यहाँ लेखा प्रणाली अस्तव्यस्त भएको पायौँ । सदस्यहरूको बचत तथा शुल्कको अभिलेख राख्ने, मासिक तथा वार्षिक आर्थिक प्रतिवेदन बनाउने, बैठकमा आर्थिक विवरण प्रस्तुत गर्ने, नगद तथा बैङ्क खाताको व्यवस्थापन गर्ने यस्तै कुनै प्रक्रिया पनि व्यवस्थित भेटिएनन् । त्यस कारण उहाँहरूका लागि हामीले लेखा व्यवस्थापन तालिम सञ्चालन गरेका हौ ।” अध्यक्ष गौतमले भने ।
वडा नम्बर १ का विभिन्न समूहबाट आएका सहभागीहरूले तालिम निकै उपलब्धिमूलक भएको बताएका छन् । “सरले सिकाउनु भए जस्तो प्रभावकारी लेखा प्रणाली त हामीले व्यवस्थित गर्न सकेका थिएनौ । धेरै ज्ञान पनि थिएन । फलानाले ऋण लियो र दियो भनेर टिप्ने बाहेक अरू विवरणका कुराहरू थाहा थिएन । तालिमबाट धेरै कुराको जानकारी पायौँ ।” तालिममा सहभागी प्रतीक्षा रिजाल कार्कीले भनिन् ।

समूहहरूले वित्तीय व्यवस्थापन तथा परिचालनको पाटोलाई सहज बनाएको भए पनि नीति र प्रक्रिया अनुसार सञ्चालन हुन नसकेको पाइएको छ । “मासिक बैठकमा आय व्ययको हिसाब गर्नु पर्ने, ऋण लगानी र असुलीमा विषयमा छलफल तथा समुदायका विविध पक्ष र सवालका विषयमा छलफल र निर्णय हुनु पर्ने र त्यसमा हरेक सदस्यको प्रत्यक्ष र अर्थपूर्ण सहभागिता हुनु पर्ने हो ।” तालिमका प्रशिक्षक समेत रहेका अधिवक्ता प्रेम प्रसाद धमलाले भने,… “तर यहाँ त सहभागीहरूले समूहको मासिक बैठकमा नै सदस्यहरू उपस्थित हुँदैनन् भन्नु हुन्छ । समूहको लागि यो राम्रो लक्षण पक्कै होइन । नीति, विधि र अनुशासन भन्दा बाहिर रहेर विश्वासमा मात्र चलेका समूहहरूको आयु त्यति धेरै हुँदैन । सबै जिम्मेवार बनेर व्यवस्थित गर्दै जानु पर्ने आवश्यकता देखियो ।”

वडा नम्बर १ को आर्थिक सहयोगमा समृद्ध नेपाल ट्रेनिङ सेन्टरले तालिमको आयोजना गरेको थियो । तालिममा सहभागी भएपछि लेखा व्यवस्थापनका विविध पक्षमा जानकारी बढेको भन्दै आ–आफ्ना समूहहरूलाई नीति, विधि र अनुशासन बाँध्ने प्रतिबद्धता समेत जनाएका छन् । उनीहरूले यस्तो तालिम पहिलो पटक पाएको भन्दै समय समयमा यस्ता तालिमको योजना गरिदिन पनि गाउँपालिका तथा वडा वडा कार्यालयलाई आग्रह गरेका छन् ।






Comments
Latest Comments