कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । एक नम्बर वडा कार्यालयको आयोजनामा दोदोधरा अस्पतालमा सम्पन्न स्वास्थ्य शिविरबाट ७ सय ३ जनाले सेवा लिएका छन् । शिविर मार्फत ८० जनाको मोतिया विन्दुको समस्या पहिचान भएको छ । यस्तै १ सय ९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने सामान्य समस्या भएका बिरामीहरूलाई आवश्यक औषधी समेत निःशुल्क उपलब्ध गराइएको छ । मोतिया विन्दुको समस्या पहिचान भएकाहरूको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।
गाउँपालिका अन्तर्गत वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । कार्यक्रम बोल्दै वडा अध्यक्ष गौतमले वडा बासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा स्वास्थ्य शिविरको आयोजना गरेको बताए । “हाम्रो वडामा अति विपन्न घरपरिवार पनि छन् । आर्थिक अभावमा आँखा जस्तो संवेदनशील समस्यामा समेत लापरबाही गर्ने गरेको देखेको छु । उसो त हाम्रै अस्पतालबाट आँखा उपचार सेवा सुरु भएको छ तर पनि विशेषज्ञको टिम ल्याएर नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन हामी लागी परेका छौ ।” उनले भने ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले वर्तमान गाउँ सरकार जनताको स्वास्थ्यमा गम्भीर भएर लागेको बताएका छन् । “हामीले स्वास्थ्यलाई प्रमुख केन्द्रमा राखेर काम गरिरहेका छौ । हामीले सञ्चालन गरेको दोदोधरा अस्पतालबाट हाम्रो पालिका सँगै छिमेकी क्षेत्रका नागरिकहरूलाई पनि सहज सेवा प्रदान भइरहेको छ । आँखा उपचार केन्द्र पनि यसै अस्पतालमा सञ्चालन गरेका छौ । शर्पदंश उपचार तथा पोस्टमार्टम सेवा समेत हामीले सञ्चालन गरेका छौ ।” अध्यक्ष कुँवरले भने ।
स्थानीय सरकारले नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने महत्त्वपूर्ण काम भएको सेवाग्राहीहरुले बताएका छन् । शिविर मार्फत घर आँगनमै आँखा उपचार सेवा पाएपछि सेवाग्राहीहरू खुसी भएका छन् ।






Comments
Latest Comments