कैलालीको बर्दगोरियामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर एकको कार्यालयको आर्थिक सहयोगमा प्रहार नेपाल धनगढीले दुई दिने तालिमको आयोजना गरेको हो ।

प्रहार नेपालका अध्यक्ष प्रकाश कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष एवम् गाउँ सरकारका प्रवक्ता मिथुन गौतम रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले किशोरीहरुलाई हुन सक्ने विभिन्न हिँसा तथा दुर्व्यवहारबाट बचाउन तालिमको आयोजना गरिएको बताए । “अहिलेको अवस्थामा हाम्री छोरी बहिनिहरु घरपरिवार र आफन्तबाटै सुरक्षित छैनन् । अब हामी उनीहरुको सुरक्षा कबज बन्ने होईन उनिहरुलाई नै सुरक्षित हुने उपाए सिकाउने हो । उनीहरुलाई नै शसक्त बनाउने‚ प्रतिकार र प्रहार गर्न सिकाउने हो । छोरीहरु आफै सक्षम नहुँदा सम्म हिँसा र दुर्व्यवहार न्यूनिकरणमा अपेक्षाकृत सफलता हात पर्न मुस्किल हुन्छ ।” उनले भने ।

प्रहार नेपालका अध्यक्ष प्रकाश चन्दले असल छुवाइ‚ गलत छुवाइ‚ प्रतिकार र प्रहारका विषयमा छोरीहरु जानकार र सक्षम भएमात्रै पनि हिँसा र दुर्व्यवहारमा कमी हुने उल्लेख गरे । “प्रहार नेपालले हाल सम्म ३८ हजार छोरीहरुलाई आत्मरक्षा तालिम दिईसकेको छ । हाम्रो अभियान निरन्तर जारी छ । तालिम पाएपछी उनीहरु कम्तिमा बोल्ने र प्रतिकार गर्न सक्ने भएका छन् ।” उनले भने ।   

तालिमका सहभागिहरुलाई छुवाइको प्रकृती सँगै प्रतिकार र प्रहारका विभिन्न सीपहरु सिकाइएका छन् । दुई दिन सम्म चलेको आत्मरक्षा तालिममा विभिन्न विद्धलयबाट तीन सय बढी किशोरीहरुको सहभागीता रहेको थियो । उनीहरुले तालिम मार्फत जिवनकै महत्वपूर्ण र आवश्यक सीप सिकेको प्रतिकृया दिएका छन् ।