कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँ सरकारको आफ्नो १८ औँ गाउँ सभा मार्फत गाउँ सरकारका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले कुल १ अर्ब ९ करोड २१ लाख १५ हजार ६ सय ५० रुपैयाँको बजेट सार्वजनिक गरेका हुन । 

गाउँ सरकारले आगामी आर्थिक वर्षमा ३ करोड ८२ लाख ३३ हजार ८ सय आन्तरिक आय प्राप्त हुने अनुमान गरेको छ भने राजस्व बाँडफाँडबाट ११ करोड ५१ लाख ४१ हजार र अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट कुल ५६ करोड ९८ लाख प्राप्त हुने अनुमान गरेको छ । यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट ९ करोड ३४ लाख २७ हजार, सरी आएको अनुमानित मौज्दात (अ.ल्या) ७ करोड ५ लाख १३ हजार ८ सय ५० र सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत २० करोड ५० लाखको बजेट सार्वजनिक गरिएको हो । 

यस्तै गाउँ सरकारले व्ययतर्फ चालु खर्च ३७ करोड २४ लाख ५० हजार, पुँजीगत तर्फ ५१ करोड ४६ लाख ६५ हजार ६ सय ५० र सामाजिक सुरक्षा खर्च तर्फ २० करोड ५० लाख खर्च अनुमान गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँ सरकारलाई प्राप्त हुने अनुमानित रकम ७७ करोड ६९ लाख ४२ हजार मध्ये हाल सम्म ५६ करोड ७४ लाख १ हजार ४ सय २१ रुपैयाँ प्राप्त भएको छ । 

प्राप्त रकम मध्ये हाल सम्म ४२ करोड ९८ लाख ३४ हजार ८ सय ५ रुपैयाँ खर्च भएको छ । जुन अनुमानित बजेटको ५६ प्रतिशत हुन आउँछ । गाउँ सरकारले गरेको कुल खर्च मध्ये चालु तर्फ ७० प्रतिशत र पुँजीगत तर्फ ४२ प्रतिशत रकम खर्च भएको छ । चालु तर्फ २६ करोड ६६ लाख ४० हजार ७ सय ७१ रुपैयाँ र पुँजीगत तर्फ १६ करोड ३१ लाख ९४ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।