पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ । खोजमूलक पत्रकारिताप्रति दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
बिहीबारबाट बौनियामा सुरु भएको तालिम शनिवार सम्म सञ्चालन हुने छ । गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता मिथुन गौतमको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि बर्दगोरिया गाउँपालिकाले महत्त्वपूर्ण र उदाहरणीय कदम चालेको बताए । उनले खोज पत्रकारिता लोकतन्त्र, सुशासन र जबाफदेहिताको आधार भएकाले यस्ता तालिमले दक्ष र जिम्मेवार पत्रकार उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे ।
“पत्रकारहरूको सीप र क्षमता विकास गर्न स्थानीय सरकारले चालेको यो पहल प्रशंसनीय छ । अन्य स्थानीय तहहरूले पनि यसको सिको गर्न आवश्यक छ ।” उनले भने । खोज पत्रकार उत्पादन गर्ने तथा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो ।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका प्रवक्ता गौतमले गाउँपालिकाले पत्रकारिता क्षेत्रलाई पनि प्राथमिकताका साथ हेर्दै आएको बताए । उनले अधिकांश सञ्चारमाध्यममा उद्घाटन र समापन जस्ता औपचारिक समाचार मात्र प्राथमिकतामा पर्ने गरेको उल्लेख गर्दै विकास, सुशासन, जनचासो तथा स्थानीय समस्याका विषय ओझेलमा परेको गुनासो गरे ।
“हामीले गरेका राम्रा कामहरू, हाम्रा कमजोरीहरू र जनताका वास्तविक आवाजहरू पनि पर्याप्त रूपमा बाहिर आउन सकेका छैनन् ।” उनले भने,… “त्यसैले स्थानीय क्षेत्रमा क्रियाशील पत्रकारहरूको क्षमता अभिवृद्धि गरी खोजमूलक र तथ्यमा आधारित पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले तालिम आयोजना गरेका हौँ ।”
तालिममा खोज पत्रकारिता प्रशिक्षकका रूपमा पत्रकार विद्या राईले सहजीकरण गरिरहेकी छन् भने बिहीबार सुशासन सम्बन्धी विषयमा विज्ञ रामहरि ओझाले प्रशिक्षण दिएका छन् ।
गाउँपालिकाका अनुसार असार ११, १२ र १३ गतेसम्म सञ्चालन हुने तालिममा बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका, लम्किचुहा नगरपालिका र भजनी नगरपालिका क्षेत्रमा कार्यरत पत्रकारहरूको सहभागिता रहेको छ।





Comments
Latest Comments