सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चलचित्रलाई कला, संस्कृति, धार्मिक पर्यटन र पुरातात्त्विक सम्पदाको प्रवर्द्धन गर्ने सशक्त माध्यमका रूपमा उपयोग गर्दै सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुपर्ने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा चलचित्र पत्रकार संघ, कैलाली शाखाको सहकार्यमा आयोजित चलचित्रको विकास तथा नियमन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले प्रदेशका धार्मिक स्थल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र ऐतिहासिक धरोहरलाई चलचित्रमार्फत विश्वसामु पुर्याउन सकिने बताए । उनले यस दिशामा प्रदेश सरकार आवश्यक नीति तथा कार्यक्रममार्फत सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।
मुख्यमन्त्री शाहले नेपाली चलचित्र उद्योग तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण आवश्यक रहेको बताए। उनले सुदूरपश्चिम प्रदेश चलचित्र विकास बोर्ड गठनका लागि आवश्यक छलफल अघि बढाइने जानकारी पनि दिए। कलाकार राष्ट्रका गहना हुन् । उनले भने,… “कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान दिने स्रष्टाको सम्मान गर्दै राज्य अघि बढ्नुपर्छ।”
बजेटमा चलचित्र क्षेत्रसँग सम्बन्धित केही प्राविधिक कमजोरी देखिएको स्वीकार गर्दै उनले आवश्यक सुधार गरिने विश्वास व्यक्त गरे। नेपाल प्रज्ञा–प्रतिष्ठानकी उपकुलपति सरस्वती दाहालले कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठान निरन्तर सक्रिय रहेको बताउँदै सुदूरपश्चिमको मौलिक कला, साहित्य र संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न विशेष पहल आवश्यक रहेको धारणा राखिन्।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम कला, संस्कृति र चलचित्र निर्माणका दृष्टिले अत्यन्त सम्भावनायुक्त प्रदेश भएको उल्लेख गर्दै सरकारले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीति निर्माणमा ध्यान दिइरहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले प्रदेश सरकारले चलचित्र क्षेत्रलाई बजेटमार्फत पर्याप्त प्राथमिकता दिन नसकेको टिप्पणी गरे। चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष पुष्पराज जोशीले केही सकारात्मक पहल भए पनि चलचित्र उद्योगको समग्र विकासका लागि अझ प्रभावकारी नीति र लगानी आवश्यक रहेको बताए।

चलचित्रकर्मी उमेश मायालु र सञ्जीव रावलले सुदूरपश्चिममा चलचित्र निर्माणको ठूलो सम्भावना रहे पनि सरकारी नीति, पूर्वाधार, प्राविधिक जनशक्ति र अध्ययन–अनुसन्धानको अभावका कारण अपेक्षित विकास हुन नसकेको धारणा व्यक्त गरे। सुदूरपश्चिममा सिनेमाको सम्भावना र चुनौती विषयक अन्तरक्रियाको सहजीकरण पत्रकार रमा चन्दले गरेकी थिइन्।
सो अवसरमा चर्चित गायिका डिग्रा देवी बादी, पत्रकार भानुभक्त आचार्य तथा पुष्पराज जोशीलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, चलचित्र क्षेत्रका विज्ञसँग अन्तरक्रिया तथा चलचित्र विकास सम्बन्धी विस्तृत छलफल गरिएको थियो।
चलचित्र पत्रकार संघ कैलालीका अध्यक्ष विवेक नागरिकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव लोकुसिंह ठकुरीले गरेका थिए। आयोजकका अनुसार चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र नीतिगत सुधारका विषयमा यस्ता अन्तरक्रिया आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।





Comments
Latest Comments