कैलालीको बर्दगोरियामा रहेको गायत्री मञ्चले वडा नम्बर १ मा रहेको राजकुला सामुदायिक वनमा वृक्षारोपण गरेको छ । समुदायिक वनको करिव ३ बिघा क्षेत्रफललाई गायत्री कुञ्जका रुपमा विकास गर्न खोजिएको छ । सोही अनुरुप शनिवार सो क्षेत्रमा आँप, अम्बा, लिचि, कागती लगायत विभिन्न जातका ३ सय बढी फलफूलका विरुवाहरु रोपिएको गायत्री मञ्चका अध्यक्ष रंगलाल शर्माको बताए ।

गायत्री मञ्चले यस अघि पनि वृक्षारोपण गरेको थियो । गत वर्ष पनि मञ्चले बास, जामुन, हर्रो, बर्रो लगायतका विभिन्न जातका ६ सय बोटविरुवा लगाएको थियो । सबैले यज्ञ गर्न सक्ने तथा ध्यान गर्न सक्ने स्थान बनाउने तथा वनलाई अम्दानीका श्रोतका रुपमा विकास गर्ने उदेश्यले वृक्षारोपण गरिएको बताइएको छ । वन क्षेत्रमा स–साना झाडिहरु राख्नु भन्दा यसलाई उत्पादनमा जोड दिने तथा मनोरम पार्कका रुपमा विकास गर्न आवश्यक रहेको वडा अध्यक्ष मिथुन गौतमको भनाई छ ।

२०८० सालमा गाउँपालिकाको सहयोगमा यस क्षेत्रमा शान्तिकुञ्ज हरिद्धारको तत्वअवधानमा २४ कुण्डिय गायत्री महायज्ञ संचालन गरिएको थियो । सोही अवसरमा यज्ञशाला निर्माण समेत गरिएको थियो । सो यज्ञशालामा हाल हरेक महिनाको १ गते एक कुण्डिय गायत्री महायज्ञ समेत संचालन हुने गरेको छ । सामुदायिक वन संरक्षण तथा गायत्री कुञ्जको प्रवर्धन गर्ने उदेश्यले वडा कार्यालयले समेत गत वर्ष नै घेरबारको काम सम्पन्न गरेको थियो । सामुदायिक वनको सो क्षेत्रमा वृक्षारोपण गरी यज्ञशाला तथा ध्यान गर्न सक्ने स्थान बनाउने उदेश्य भएपनि यसको स्वामित्व भने वन समितिकै रहने छ ।






Comments
Latest Comments