कैलालीको बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पद रिक्त हुने संकेत देखिएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित पालिकाका उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिए पछि उपाध्यक्ष पद रिक्त हुने खतरा बढेको हो।
राजनितीक दल सम्बन्धि ऐन २०७३ को दफा ३१ को २(ख) मा निर्वाचित सदस्यले अर्को दलको सदस्यता लिएमा दल त्याग गरेको मानिने ब्यवस्था छ भने सोही दफा ३१ को २ मा निर्वाचित सदस्यले दल त्याग गरेमा सोही मिति देखी पद स्वतः रिक्त भएको मानिने उल्लेख छ। यसलाई आधार मान्ने हो भने बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पद अहिले पनि रिक्त अवस्थामा छ।
तर स्थानीय तहको हकमा भने पद रिक्त हुनका लागी सम्बन्धित दलले कानुनी प्रक्रिया पुरा गर्नु पर्ने ब्यवस्था छ। राजनितिक दल सम्बन्धि नियमावली २०७४ को दफा २२ मा आफ्नो दलबाट निर्वाचित सदस्यले दल त्याग गरेमा सम्बन्धित दलको केन्द्रिय कमिटीले निर्णय गरी सोको जानकारी निर्वाचन आयोगलाई गराउनु पर्ने उल्लेख छ। यो दफा अनुसार निर्वाचन आयोगले आफ्नो सबै प्रक्रिया सम्पन्न गरेपछि निर्वाचित सदस्यको पद स्वतः रिक्त भएको मानिने ब्यस्था छ।
सोही कानूनी ब्यवस्था अनुसार केन्द्रिय कमिटीले निर्वाचन आयोगलाई सिफारिस गरिसकेको तत्कालिन नेकपा माओवादी केन्द्र तथा हालको नेपाली कम्युनिष्ट पार्टीका सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरी (उत्सव) को भनाई छ।
“लालदीप जी जस्तो जिम्मेवार मान्छे, सहिद परिवारको मान्छे, सबैकुरा बुझेको मान्छे, उहाँले दल त्याग गरिसके पछि आफै पदबाट राजिनामा दिनुहुन्छ होला भन्ने सोचाईमा थियौ तर त्यसो गर्नु भएन। उहाँलाई पार्टीले २४ घण्टे स्पष्टिकरणका पत्र समेत पठाएको थियो। उहाँले जवाफ दिनु भएन र वेवास्ता गर्नु भयो। बाध्य भएर हामी कानूनी पाटोमा अघि बढेका हौ। सायद निर्वाचन आयोगले अब चाँडै नै उहाँको पद रिक्त गर्छ होला।” अध्यक्ष चौधरीले भने ।
उपाध्यक्षले पाएनन् कार्यभार
बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर यतीबेला कामको शिलशिलामा संघीय राजधानी काठमाण्डौमा छन्। अध्यक्षको अनुपस्थितीमा उपाध्यक्षले कार्यभारको जिम्मेवारी पाउने कानूनी ब्यवस्था छ तर अध्यक्ष कुँवरले वडा अध्यक्ष एवम् प्रवक्ता मिथुन गौतमलाई कार्यभार दिएका छन्।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ मा सातदिन भन्दा बढी समय पालिका प्रमुख अनुपस्थित हुने भएमा उपप्रमुखलाई कार्यभार दिने र उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिनु पर्ने ब्यवस्था छ। सोही दफाको खण्ड ख को २ मा अध्यक्ष वा उपप्रमुखको अनुपस्थितीमा उपाध्यक्ष वा उपप्रमुखले कार्यभार सम्हाल्नु पर्ने काम, कर्तव्य र अधिकारका रुपमा उल्लेख गरिएको छ। तरपनि अध्यक्ष कुँवरले उपाध्यक्ष गिरीलाई कार्यभार दिएनन्।
कतीपयले यसलाई उनीहरुको अन्तरिक विवादका रुपमा बुझेका छन् भने कतीपयले अध्यक्षले उपाध्यक्षलाई बेवास्ता गरेको भन्दै चर्चा गरिरहेका छन्। तर अध्यक्ष कुँवरले भने उपाध्यक्ष सँगको सम्बन्ध सुमधुर नै रहेको र कार्यभारको पाटोलाई कानुनले रोकेको प्रतिक्रिया दिएका छन्।
“उपाध्यक्ष ज्युले दल परिवर्तन गर्नुभएको छ। निर्वाचित भएको दल परिवर्तन गर्दा निर्वाचित पद स्वतः रिक्त हुने कानुनी ब्यवस्था छ। त्यसलाई मात्र आधार मान्ने हो भने त अहिले पालिकामा उपाध्यक्ष पद रिक्त अवस्थामा छ भन्दा पनि फरक नपर्ला की जस्तो लाग्छ। यद्धपी आयोगको काम र प्रक्रिया हेरौं।” अध्यक्ष कुँवरले भने ।
पद रिक्त हुने कानुनी पाटो सँगै उपाध्यक्षलाई निर्वाचित भएको दलले कारबाहीको लागी आयोगमा पत्राचार गरेको, कार्यपालिका बैठकमा पनि उपाध्यक्षको उपस्थिती हुन छोडेको लगायतका कारण जिम्मेवारी नदिएको उनको भनाई छ। यस विषयमा उपाध्यक्ष गिरीको प्रतिक्रिया लिन खोज्दा उनी हाम्रो सम्पर्कमा आउन चाहेनन् ।





Comments
Latest Comments