कैलालीको बर्दगोरिया गाउँपालिकाले खानेपानी निःशुल्क गर्ने भएको छ। बुधबार वडा नम्बर ३ मा रहेको रानिकुण्डा खानेपानी आयोजनाको उद्घाटन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले यो आयोजना अन्तर्गतका सेवाग्राहीहरुका लागि एक वर्ष सम्म निःशुल्क खानेपानी वितरण गर्ने घोषणा गरेका छन्।
“हामीले यो आयोजना अन्तर्गतका जनतालाई एक वर्ष सम्म निःशुल्क रुपमा खानेपानी दिने छौ।त्यसपछि पनि जनतालाई कति यूनिट सम्म छुट दिन सकिन्छ भनेर हामी संघीय, प्रदेश र स्थानीय सरकार तथा विश्वबैंक सँग समन्वय र छलफल गरिरहेका छौ।अन्यत्र जस्तो खानेपानी जडानका लागि धेरै रकम दिनुपर्ने र फेरी मासिक रुपमा महंगो महसुल तिर्नु पर्ने बाध्यता हाम्रो पालिकामा रहने छैन।” उनले भने
स्थानीय तह निर्वाचन २०७९ मा अध्यक्ष कुँवरले जनतामझ गरेका प्रतिबद्धताहरु एकपछि अर्को गरी पुरा गरिरहेको भन्दै स्थानीयहरुमा उत्साह छाएको छ।“निःशुल्क शिक्षा, घरआँगनमै स्तरिय स्वास्थ्य सेवा, कलेज संचालन, शव चिस्यान सेवा, काजक्रिया खर्च व्यवस्थापन, पोष्टमार्टम सेवा र खानेपानी निःशुल्क हुने कुरा हाम्रो कल्पना भन्दा बाहिरको कुरा थियो तर आज प्रत्यक्ष देख्न, भोग्न र सुन्न पाउँदा अत्यन्त खुशी लागेको छ।बोल्ने भन्दा काम गर्ने प्रतिनिधी पाएका छौ।एकपछि अर्को जनप्रिय कामले हामीमा थप आशा पलाएको छ।” रानिकुण्डा खानेपानीका अध्यक्ष टंक ओलीले भने ।
अगामी ५ वर्षमा पालिकाका हरेक घरघरमा शुद्ध र स्वच्छ खानेपानी पुर्याउने भन्दै २०७९ को निर्वाचनमै अध्यक्ष कुँवरले प्रतिबद्धता गरेका थिए।सोही अनुरुप हाल पालिका भरी एक अर्ब बढीको खानेपानी आयोजनाको काम चलिरहेको छ। विश्वबैंकको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र गाउँपालिकाको ७ प्रतिशत लागत साझेदारीमा संचालित परियोजना अन्तर्गत वडा नम्बर ३ मा काम सम्पन्न भई बुधबार उद्धघाटन भएको छ भने अन्य पाँच वडामा खानेपानी निर्माणको काम चलिरहेको छ।





Comments
Latest Comments