कैलालीको घोडाघोडी नगरपालिकाको आपत्कालीन बाल कोषमा बाल कल्याण सङ्घ टीकापुरले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बाल कल्याण सङ्घ टीकापुरकी कार्यक्रम संयोजक राधिका गिरीलगायतको टोलीले घोडाघोडी नगरपालिका–३ का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख कृष्णप्रसाद गौतम र निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
आपत्कालमा परेका बालबालिकाको तत्काल उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको बाल कोषमा रकम हस्तान्तरण गरिएको कार्यक्रम संयोजक राधिका गिरीले बताइन् । स्थानीय तहमा अति जोखिममा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा विपद्का समयमा आवश्यक सहयोग उपलब्ध गराउनुका साथै स्थानीय तहलाई बालमैत्री नगरपालिका घोषणामा सहयोग पु¥याउने उद्देश्यले बाल कोष स्थापनाका लागि सहयोग गरिएको उनले बताइन् । बालबालिकाको समग्र विकास र संरक्षणका लागि कोषले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
सहयोग रकम ग्रहण गर्दै घोडाघोडी नगरपालिका–३ का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख कृष्णप्रसाद गौतमले प्राप्त रकमले नगरपालिकामा आपत्कालीन अवस्थामा परेका तथा संरक्षण आवश्यक भएका बालबालिकालाई तत्काल सहयोग गर्न सहज हुने बताए । विश्व भिजन इन्टरनेशनल नेपाल र बाल कल्याण सङ्घ टीकापुरको साझेदारीमा सञ्चालित “बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनाअन्तर्गत पालिकालाई उक्त रकम सहयोग गरिएको हो । बाल कल्याण सङ्घ टीकापुरले स्थानीय तहसँगको सहकार्यमा बाल संरक्षण तथा बाल अधिकारका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि पनि सङ्घले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा ५०/५० हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिसकेको जनाएको छ ।





Comments
Latest Comments