विपद् जोखिम घटाउन कैलालीको घोडाघोडीमा तालिम दिइएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र दिगो विकास समाज भजनीको साझेदारीमा सञ्चालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो।

सहभागीहरूलाई वातावरण संरक्षण, वातावरण पुनर्स्थापना तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञान, सीप र व्यवहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको दिगो विकास समाज भजनीका कार्यक्रम संयोजक प्रभुनाथ ढकालले बताए।

तालिममा विपद् जोखिम पहिचान, पूर्वतयारी, पूर्वसूचना प्रणाली, सुरक्षित स्थान, समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण, वन, माटो तथा जलस्रोत संरक्षण, वृक्षारोपण, जैविक विविधता संरक्षण, जलवायु परिवर्तनका प्रभाव तथा वातावरण पुनर्स्थापनाका उपायबारे प्रशिक्षण दिइएको थियो। विपद्पछि प्राकृतिक स्रोतको पुनर्स्थापना र समुदायमा आधारित वातावरण पुनर्स्थापना योजना निर्माणसम्बन्धी व्यवहारिक अभ्याससमेत गराइएको थियो।

तालिममा गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिकाका सामुदायिक वनका २५ जना पदाधिकारी तथा सदस्य सहभागी थिए। नेपाल रेडक्रसका लोक राज जोशी र डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत अमित पाण्डेयले सहभागीलाई प्रशिक्षण दिएका थिए।

समापन कार्यक्रममा घोडाघोडी नगरपालिका–३ का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख कृष्णप्रसाद गौतमले तालिमबाट प्राप्त ज्ञानलाई समुदायमा व्यवहारमा उतार्न आग्रह गरे। उनले वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरण सरकारको मात्रै नभई समुदायका प्रत्येक व्यक्तिको साझा जिम्मेवारी भएको बताए।

वन अधिकृत पाण्डेयले विपद्पछि उद्धार तथा राहतमा मात्र केन्द्रित हुनुभन्दा जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरबाटै पूर्वतयारी र सचेतना आवश्यक रहेको बताए। कार्यक्रम संयोजक ढकालले वन, पानीका मुहान, माटो र जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै तालिमबाट सिकेका कुरा समुदायका अन्य व्यक्तिसम्म पुर्‍याउन सहभागीलाई आग्रह गरे। समापन कार्यक्रमको सञ्चालन सामाजिक परिचालक छेदु चौधरीले गरेका थिए।