कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का ५ वटा आयोजनको उद्घाटन गरिएको छ। वडामा रहेका २ वटा विद्यालय भवन, २ वटा सिचाई बोरिङ र एउटा कबर्डहलको बुधबार बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गरे।
वडा नम्बर ४ मा रहेको श्री माध्यामिक विद्यालय कोटातुल्सीपुरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। गाउँपालिकको पहलमा संघिय सरकारको विशेष अनुदानको रकमबाट सो विद्यालयको ३ करोडको भवन निर्माण भएको थियो। भवन निर्माण भएसँगै विगत जस्तै टिनको छानामुनी अध्यन अध्यापन गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यापक मुना पौडेलले भवनको माथिल्लो तलामा झ्यालहरु व्यावस्थापनको काम बाकी रहेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएकी छन्। प्रमुख अतिथि समेत रहेका अध्यक्ष कुँवरले हिउँदे अधिवेशनबाट झ्याल तथा अन्य व्यावस्थापनको लागि बजेट व्यवस्थापन गर्ने आश्वासन दिएका छन्।
बुधबार नै वडा नम्बर ४ कै कालिका माध्यामिक विद्यालयको बालि विज्ञान विषय पढाई हुने नवनिर्मित भवनको पनि उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको ४५ लाख समानिकरण अनुदानबाट बनेको भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले गरे। भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानाध्यापक उदय सिंह बिसीले पछिल्लो समय गाउँ सरकारले शिक्षा क्षेत्रमा गरेको कामहरु आम नागरिकका लागि अत्यन्त प्रभावकारी भएको भन्दै प्रशंसा गरे।
“कक्षा १२ सम्म निःसुल्क शिक्षा लागु गर्ने बर्दगोरिया गाउँपालिका मात्रै हो जस्तो लाग्छ मलाई।गाउँ सरकारको यो कदमले बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन तथा रकम अभावले विद्यार्थिहरुले विद्यालय छोड्ने दर घटाउन पनि महत्वपूर्ण बनेको छ। हामीले मुडाबजार देखी विद्यालय सम्म सडक कालोपत्रे बन्ने भन्ने पनि सुनेका छौ। यो पहलका लागि पनि हामी गाउँ सरकारलाई धन्यवाद दिन चाहान्छौ।” उनले भने। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृजलाल चौधरीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रमको संचालन शिक्षक प्रमोद साउँदले गरेका थिए।
खेलकुद क्षेत्रमा बहुउपयोगी बन्ने उदेश्यले निर्माण गरिएको बर्दगोरिया कबर्डहलको पनि बुधबार उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको ९० लाख समानिकरण अनुदान र अन्य पालिकाले बजेट व्यवस्थापन गरी यो भवन निर्माण भएको हो। कबर्डहललाई खेलक्षेत्रको विकासका लागि बहुउपयोगी बनाउने उदेश्य राखिए पनि त्यसलाई सिमित समुहले आफु अनुकुल प्रयोग गर्ने गरेको भन्ने जनगुनासो समेत छ। अब यसलाई बहुउपयोगी बनाउन वडा कार्यालयले नै संचालनको जिम्मेवारी लिन अध्यक्ष कुँवरले निर्देशन दिएका छन्।
बुधबार देखी नै वडाले संचालनको जिम्मेवारी लिएको वडा अध्यक्ष जगत बहादुर शाहीले बताए। “कबर्डहल बहुउपयोगी ठाउँ हो। कसै ब्यक्ती वा समुहले मात्रै फाइदा लियो र अन्यले अवसर पाएनन् भन्ने गुनासो थियो। अब वडाले नै संचालनको जिम्मेवारी लिने छ र आवश्यकताको आधारमा वडाको अनुमती लिई अन्यले प्रयोग गर्नेछन्।” उनले भने। वडाले संचालनको जिम्मेवारी लिए अब अवश्यकताको अधारमा अन्यले पनि कबर्डहल प्रयोग गर्न पाउने छन्।
शिक्षा र खेलकुद सँगै कृषि क्षेत्रका आयोजना समेत बुधबार उद्घाटन गरिएको छ। वडा नम्बर ४ मै रहेको नौनिया सिचाई आयोजना र निमुवाबोझी सिचाई आयोजनको समेत उद्घाटन गरिएको हो। प्रदेश सरकारको २ करोड ६० लाख लागतमा नौनिया सिचाई आयोजना बनेको हो भने सोही लागतमा सिचाई डिभिजन महेन्द्रनगरले निमुवाबोझी सिचाई आयोजन निर्माण गरेको हो। सिचाई आयोजनाले कृषि क्षेत्रमा उत्पादन बढ्ने तथा कृषकलाई सहजता हुने अपेक्षा गरिएको छ।सिचाई अभावका कारण कृषकहरुमा वितृष्णा समेत देखिएको भन्दै अध्यक्ष कुँवरले माथिल्ला सरकारहरु सँग समन्वय गर्दै पालिकाका हरेक ठाउँमा सिचाई सुविधा पुग्ने गरी काम गरिरहेको समेत उल्लेख गरे।






Comments
Latest Comments