२०औँ संस्करणको सुदूरपश्चिम महोत्सव यही मंसिर २२ देखि पुस ५ गतेसम्म आयोजना हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवबारे जानकारी दिएको हो।
सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग तथा व्यापारको प्रवर्द्धन गर्नुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष पुष्कर ओझाले बताए। उनका अनुसार धनगढी उपमहानगरपालिका–१, पशुपति टोलस्थित मैदानमा सञ्चालन हुने महोत्सवको तयारीका लागि २५ वटा समिति गठन समेत गरिएको छ।
यसवर्षको महोत्सवमा व्यावसायिक तथा कृषि प्रदर्शनीलाई विशेष प्राथमिकता दिइनेछ। स्थानीय उत्पादनको बजारीकरण, कृषि प्रविधिको प्रदर्शन तथा सुदूरपश्चिमका मौलिक कला, संस्कृति, लोकसंगीत र परिकारलाई विशेष स्थान दिइने आयोजकले जनाएको छ। महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायत क्षेत्रका करिब ४२५ स्टल रहनेछन्। साथै, १५० वटा प्यागोडा शैलीका स्टल निर्माण गरिनेछ। यसपटक महोत्सवको मुख्य आकर्षणका रूपमा ‘अम्ब्रेला स्ट्रिट’ रहने आयोजकले जनाएको छ।
महोत्सवमा करिब चार करोड रुपैयाँ लगानी हुने, १५ करोड रुपैयाँ बराबरको कारोबार हुने र तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा संघका आजीवन सदस्यलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ।




Comments
Latest Comments