कैलालीको टीकापुरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग र मनोपरामर्शसम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ। बाल कल्याण सङ्घमा कार्यरत कर्मचारी तथा संस्थाका पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

बाल कल्याण सङ्घ टीकापुर र वल्र्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो’ परियोजनामार्फत असोज १ गतेदेखि ५ गतेसम्म तालिम सञ्चालन गरिएको हो।

पछिल्लो समय विभिन्न कारणले मनोसामाजिक समस्या बढ्दै गएको र त्यसले व्यक्तिको शारीरिक, मानसिक तथा भावनात्मक अवस्थाका साथै पारिवारिक सम्बन्धमा समेत असर पारिरहेको अवस्थामा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको वल्र्ड भिजन इन्टरनेशनल नेपाल कैलालीका संयोजक मंगल शाहले बताए।

उनका अनुसार परिवारमा हुने झैझगडा, कलह तथा मेलमिलापको अभावले बालबालिकामा मनोवैज्ञानिक असर पर्न सक्छ। यसका कारण विद्यालय छाड्ने, बालविवाह गर्ने तथा लागुऔषध प्रयोगजस्ता जोखिम बढ्न सक्ने भएकाले त्यस्ता समस्या न्यूनीकरणका लागि कर्मचारीहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको उनले बताए।

तालिममा मनोसामाजिक अवधारणा, मनोसामाजिक समस्या हुने कारण, लक्षण तथा प्रभाव, प्रभावकारी सञ्चार सीप, तनाव व्यवस्थापनका उपाय, स्वहेरचाह गर्ने सीप र मनोवैज्ञानिक प्राथमिक उपचारका विधिबारे जानकारी गराइएको थियो।

त्यस्तै, मनोसामाजिक समस्याले बालबालिकामा पार्ने असर तथा प्रभाव, समस्यामा परेका बालबालिकाको पहिचान, उनीहरूले देखाउने लक्षण तथा व्यवहार, त्यस्ता बालबालिकालाई प्रदान गरिने मनोसामाजिक स्याहार, मनोपरामर्शका लागि केस हस्तान्तरण तथा सिफारिस प्रणाली र प्रक्रियाबारे समेत छलफल गरिएको थियो।

तालिमको समापन कार्यक्रममा संस्थाका कोषाध्यक्ष धनराज शाहीले बाल कल्याण सङ्घले परियोजनामार्फत कैलालीका घोडाघोडी, भजनी, गौरीगङ्गा, टीकापुर नगरपालिका तथा कैलारी गाउँपालिकाका परियोजना कार्यक्षेत्रमा मनोसामाजिक तथा मनोपरामर्श सेवा प्रदान गर्दै आएको बताए।

उनले मनोसामाजिक समस्या भएका बालबालिकाको समयमै पहिचान गरी थप समस्या हुन नदिन आवश्यक मनोपरामर्श सेवा प्रदान गर्न तथा आवश्यकताअनुसार अन्य सेवा तथा सहयोगका लागि सम्बन्धित निकायमा रेफर र लिङ्क गर्न तालिमले सहयोग पुग्ने बताए।

कार्यक्रममा परियोजनाकी कार्यक्रम संयोजक राधिका गिरीले स्वागत गर्दै तालिमको उद्देश्यबारे जानकारी गराएकी थिइन्।

तालिमको सहजीकरण भिजन तालिम तथा परामर्श केन्द्र टीकापुरका संस्थापक तथा मुख्य प्रशिक्षक लोकबहादुर नेपाली र सहप्रशिक्षक चन्द्रा चौधरीले गरेका थिए। तालिममा परियोजनाका कर्मचारी तथा संस्थाका कार्यसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।