कैलालीको बर्दगोरियामा यही मंसिर ४ गते देखी प्रदेश स्तरिय (विद्यालय) यू-१६ फुटबलको महाकुम्भ सुरु हुने भएको छ। विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्दै खेलाडी उत्पादनको समेत उदेश्य राखी बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टले मंसिर ४ देखी १३ गते सम्म प्रतियोगिता संचालन गर्ने भएको हो।
प्रतियोगितमा विभिन्न जिल्लाका ३२ टिम (विद्यालय)को सहभागिता रहने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ। सो अवसरमा आयोजकले प्रतियोगिताको खेल तालिका र ट्रफी समेत सार्वजनिक गरेको छ।

प्रतियोगिताको विजेताले १ लाख २१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप-विजेताले ६१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै व्यक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार र सर्वाधिक गोलकर्ताले नगद १० हजार प्राप्त गर्नेछ। यस्तै उत्कृष्ट गोल रक्षक, मिडफिल्डर र उदयमान खेलाडीले जनही १० हजार र अनुशासित टिमले फेयर प्ले अवार्ड सहित नगद ५ हजार प्राप्त गर्ने जनाइएको छ।

विद्यालय स्तरबाटै प्रतिभावान खेलाडी पहिचान गर्ने, खेलक्षेत्रको विकास गर्ने, बालबालिकाहरुलाई खेलकुदमा आकर्षण बढाउने तथा दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष प्रमोद मल्लले बताए। “विद्यार्थीहरुलाई आफ्नो खेल प्रदर्शन गर्ने अवसर दिन, खेलाडीहरुका बिचमा परिचय, मित्रता, खेल संस्कार र खेल संस्कृतिको विकास गर्न पनि यस प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्छ भन्ने लाग्छ। यती मात्र नभई बर्दगोरियालाई खेलहबका रुपमा चिनाउन पनि हामी लागि रहेका छौ। हामी सबैको प्रयास र सबैको सहयोगले नै यस्ता प्रतियोगिताहरु हुने हुन।” उनले भने ।





Comments
Latest Comments