कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का ३ आयोजनाको शुक्रबार उद्घाटन गरिएको छ। वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरीको अध्यक्षाता तथा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख अतिथ्यतामा आयोजनाहरु उद्घाटन गरिएका हुन।

शुक्रबार जनता आधारभूत विद्यालय कोइलिभुरुवाको नवनिर्मित भवन, चित्रकुट मन्दिर र ठकुरद्धारा पार्कको उद्घाटन गरिएको हो। संघीय सरकार र स्थानीय बर्दगोरिया गाउँपालिकाको ५५ लाख लागत साझेदारीमा जनता आधारभूत विद्यालयको ४ कोठे पक्की भवन निर्माण भएको हो भने गाउँपालिको २० लाख लागतमा चित्रकुट मन्दिर निर्माण भएको थियो। यस्तै ठाकुरद्धारा पार्कका लागि गाउँपालिकाले ७ लाख र वडा कार्यालयले ३ लाख रुपैया विनियोजन गरेको हो।

उद्घाटन कार्यक्रममा बोल्दै जनता आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर चौधरीले विद्यालयले इतिहासमै पहिलो पटक पक्की भवन पाएको र यसले अध्ययन अध्यापनमा सहज हुने बताउनु भयो। साथै उहाँले शिक्षक व्यवस्थापन र अन्य भौतिक संरचना व्यवस्थापनको कामलाई विशेष ध्यान दिन समेत गाउँ सरकारलाई आग्रह गर्नु भयो।

यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोलेराम चौधरीले आफुहरु नेतृत्वमा आउनु अघि ठाकुरद्धारा क्षेत्र जंगलको अवस्थामा रहेको र यसलाई पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउन गाउँपालिका सँग समन्वय गरी सरसफाई तथा अन्य व्यवस्थापनको काम अघि बढाएको उल्लेख गर्नु भयो। अहिले पार्क श्रृंगारिएको छ भने सुदूरपश्चिमकै सबै भन्दा ठुलो हात्तीको प्रतिमा समेत राखिएको छ।

प्रमुख अतिथिको आशनबाट बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले चार वर्ष सम्म आफुहरुले निरन्तर काम गरेको र यस वर्ष काम सम्पन्न भएका सबै आयोजनालाई उद्घाटन गर्ने कामले निरन्तरता पाएको बताउनु भयो। “हामी स्टण्ड गर्न होइन काम गर्न आएका हौ। ४ वर्ष सम्म निरन्तर जनताको काममै व्यस्त भयौ र अझै पनि कामलाई निरन्तरता दिइरहेका छौ। हामीले काम सम्पन्न भएका सबै आयोजनालाई उद्घाटन गरिरहेका छौ। पहिलो चरणमा १३ वटा आयोजना उद्घाटन गरेका छौ र अब केही दिनमा दोश्रो चरणको उद्घाटनको कामलाई अघी बढाउने छौ।” उहाँले भन्नु भयो।