कैलालीको बर्दगोरिया गाउँपालिका–४, कोटागढीमा जारी सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्र यू–१६ फुटबल प्रतियोगिता–२०८३ को सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगितामा सहभागी ३२ विद्यालयमध्ये उत्कृष्ट प्रदर्शन गर्दै चार टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्।

सेमिफाइनल अन्तर्गत शनिबार बिहान ११ बजे हुने पहिलो खेलमा कल्पवृक्ष स्कुल, भजनी र कलम बम मेमोरियल स्कुल, पहलमानपुरबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, दिउँसो १ बजे हुने दोस्रो सेमिफाइनलमा महुन्याल माध्यमिक विद्यालय, बासकोटी र खडक मेमोरियल स्कुल, टिकापुर आमनेसामने हुने आयोजकले जनाएको छ। दुवै सेमिफाइनलका विजेता टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। चारै टोली उपाधि होडमा रहेकाले सेमिफाइनलका खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता विद्यालयले नगद १ लाख २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता विद्यालयले ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। त्यसैगरी, व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर र उदयीमान खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गर्ने टोलीलाई फेयर प्ले अवार्डसहित ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ। विद्यालयस्तरबाटै फुटबल प्रतिभाको पहिचान, विकास र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिमका विभिन्न जिल्लाका ३२ विद्यालयको सहभागिता रहेको छ।