कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बरदगोरिया बहुउदेश्यीय सहकारीको २७औँ साधारण सभा सम्पन्न शनिबार सम्पन्न भएको छ।सहकारीका अध्यक्ष चेतराज भट्टको अध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द बिक रहनु भएको थियो।

साधारण सभा मार्फत सहकारीले ३ करोड ७३ लाख २७ हजार ४ सय ६८ रुपैयाँ बराबरको आय व्यय सार्वजनिक गरेको छ। सहकारीको गत आर्थिक वर्षको नगद मौज्दात ४३ लाख १८ हजार रहेको थियो भने शेयर बिक्रिबाट ६ लाख ३९ हजार आम्दानी गरेको छ। यस्तै सहकारीको निक्षेप (मासिक बचत) १ करोड ५२ लाख २ हजार, ब्याजबाट प्राप्त रकम १४ लाख ५ हजार, ऋण लगानी फिर्ता १ करोड २२ लाख १९ हजार, मल बिक्रिबाट ३२ लाख ११ हजार र ऋण व्यवस्थापनबाट १ लाख ६९ हजार आम्दानी गरेको छ।

यस्तै खर्चतर्फ १ करोड ६५ लाख २५ हजार ऋण लगानी रहेको छ भने १ करोड २१ लाख २८ हजार बचत फिर्ता गरिएको छ। कर्मचारीको तलबमा ७ लाख १६ हजार खर्च गरेको सहकारीले १ लाख ७० हजार बराबरको शेयर फिर्ता गरेको छ। त्यस्तै मल खरिदमा २७ लाख ८३ हजार, सदस्यहरुलाई ब्याज वितरण ४ लाख ५८ हजार, मल ढुवानीमा १ लाख ५ हजार खर्च भएको छ भने ४० लाख ३४ हजार मौज्दात रहेको सहकारीका व्यवस्थापक बाबुराम पाण्डेले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सरहकारीले आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ५१ लाख २० हजारको कारोबार गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै वडा अध्यक्ष गोविन्द बिकले कृषकहरुको माग अनुसार मलको आपुर्ति गर्न स्थानिय सरकारले समन्वयको पाटोलाई अघि बढाउने आश्वासन दिनु भएको छ। “हामीले सहकारी मार्फत नै मल वितरण गरिरहेका छौ। माग अनुसारको आपुर्ति हुन सकिरहेको छैन। हामी आपुर्ति बढाउन निरन्तर समन्वयमा छौ।” उहाँले भन्नु भयो। सहकारीका सचिव कृष्ण भण्डारीले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष ध्वज बहादुर सुनारले स्वागत गर्नु भएको थियो।