कैलालीको बर्दगोरिया गाउँपालिका–४, कोटागढीमा जारी सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्र यू–१६ फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि आइतबार कल्पवृक्ष स्कुल, भजनी र खडक मेमोरियल स्कुल, टीकापुरबीच प्रतिस्पर्धा हुने भएको छ।
शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा कल्पवृक्षले कलम बम मेमोरियल स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। त्यस्तै, दोस्रो सेमिफाइनलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राइब्रेकरमा महुन्याल माध्यमिक विद्यालय, बास्कोटीलाई ४–२ गोल अन्तरले हराउँदै खडक मेमोरियल स्कुल टिकापुरले फाइनलमा स्थान बनाएको हो।
प्रतियोगिताको विजेताले १ लाख २१ हजार र उपविजेताले ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। ३२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १० हजार तथा उत्कृष्ट रक्षक, मिडफिल्डर, गोलकिपर र उदयीमान खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।





Comments
Latest Comments