कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा बजेट विश्लेषण प्रतिवेदन समीक्षा बैठक सम्पन्न भएको छ । घोडाघोडी नगरपालिकाको समन्वय, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा बाल कल्याण सङ्घ टीकापुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा घोडाघोडी नगरपालिकाले बालबालिकाको क्षेत्रमा विनियोजन गरेको बजेट तथा त्यसको कार्यान्वयन अवस्थाका विषयमा छलफल गरिएको थियो । बालबालिकालाई केन्द्रमा राखेर तयार पारिएको बजेट विश्लेषण प्रतिवेदन प्रस्तुत गर्दै त्यसको समीक्षा गरिएको थियो ।

विशेष गरी स्थानीय तहले बालबालिकाको हक तथा अधिकार संरक्षण, उनीहरूको वृद्धि, विकास र समग्र हितका लागि बजेट तथा कार्यक्रम कसरी निर्माण र कार्यान्वयन गरिरहेका छन् भन्ने विषयमा समीक्षा गरिएको बाल कल्याण सङ्घ टीकापुरकी कार्यक्रम संयोजक राधिका गिरीले बताइन् । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता तथा विकासका लागि स्थानीय तहले प्राथमिकताका साथ बजेट विनियोजन गरे/नगरेको, विनियोजित बजेटको कार्यान्वयन अवस्था तथा त्यसबाट बालबालिकाले प्राप्त गरिरहेको लाभका विषयमा समेत छलफल गरिएको उनले बताइन् । घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये १४ दशमलव २३ प्रतिशत बजेट मात्रै बालबालिकाको क्षेत्रमा विनियोजन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा बालबालिकाको आवश्यकता र अधिकारलाई केन्द्रमा राखेर स्थानीय तहले आगामी दिनमा बजेट तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो । साथै, बालबालिकाका लागि विनियोजन गरिएको बजेटको प्रभावकारी कार्यान्वयन र त्यसको नियमित समीक्षा गर्नुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए । कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र बाल कल्याण सङ्घ टीकापुरको साझेदारीमा सञ्चालित “बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनाले यस क्षेत्रमा विगतदेखि नै बालबालिकाको अधिकार, संरक्षण तथा समग्र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा घोडाघोडी नगरपालिका–३ का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख कृष्णप्रसाद गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंह, विभिन्न विषयगत शाखाका प्रमुख,बाल कल्याण सङ्घ टीकापुरका कर्मचारी,बालबालिका लगायतको सहभागिता रहेको थियो ।