सुदूरपश्चिम प्रदेश सरकाले खेलकूद क्षेत्रलाई थप व्यवस्थित र गतिशील बनाउन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् (सुखेप) सदस्यमा प्रमोद मल्ललाई मनोनीत गरेको छ । चैत्र १ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार उनलाई मनोनीत गरिएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकूद ऐन, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (छ) बमोजिम मल्ललाई मनोनीत गरिएको हो । खण्ड (छ) मा प्रदेश स्तरमा रहेका खेलकुद सम्बन्धि दर्ता भएका संघ संस्थाबाट कम्तीमा एक महिला सहित ३ जना सदस्य मनोनीत गर्न सकिने ब्यवस्था छ । मल्ल बर्दगोरिया स्पोर्ट्स एन्ड इभेण्टका अध्यक्ष हुन । उनले हरेक वर्ष प्रभावकारी रुपमा खेलकुदका गतिविधिहरु संचालन गर्दै आएका छन् । खेलकुद क्षेत्रको बिकास, प्रवर्द्धन तथा खेलाडी उत्पादनमा उनको भूमिकाको चर्चा हुने गरेको छ ।
मल्ललाई सुदूरपश्चिम प्रदेश खेलकूद ऐन, २०७६ को दफा ४ को उपदफा (१) मा तोकिएको अवधिसम्मका लागि जिम्मेवारी दिइएको मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ । उक्त दफा ४ को उपदफा १ मा मनोनीत सदस्यको पदावधि ४ वर्षको हुने उल्लेख छ ।
नियुक्ति पत्र प्रदान गर्दै मन्त्रालयले मल्लको कार्यक्षमतामाथि पूर्ण विश्वास व्यक्त गरेको छ । प्रचलित कानूनको परिधिभित्र रही तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र सुदूरपश्चिमको खेलकूद विकासमा मल्लको महत्वपूर्ण योगदान रहने विश्वास सचिव रेग्मीले व्यक्त गरे । मल्लको नियुक्तिले प्रदेशमा खेल गतिविधि विस्तार र खेलाडीहरूको मनोबल उच्च बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खेलकुद परिषदमा मल्ल सहित ८ जनालाई नियुक्ति गरेको छ ।

Comments
Latest Comments