कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने केशर लुहार (कवि) को गत कार्तिक २ गते एकाबिहानै मोबाइलको घण्टी बज्यो । फोन थियो, बर्दगोरिया कै स्थानीय शुभ साउँदको । कविले हलो भन्न नपाउँदै, “भाइ कता छौ ? मलामीका लागि ट्याक्टर चाहिने भयो ।” उताबाट आवाज आयो । “म त बाहिर छु दाइ, आज मेरो ड्राइभर छैन, हुन्न होला ।”कवि ले भने, संवाद टुङ्गियो । त्यो दिन कवि आफन्तका साथ पालिका बाहिरको काममा थिए । कवि ट्याक्टर, जेसिबि तथा टिप्परहरु चलाएर ढुवानीको काम गर्ने मान्छे हुन । 

त्यो दिन उनको घरमा थिए उनका ७० वर्षीय बाबु सिकारी लुहार र दाजुको छोरा १८ वर्षीय सुशील बि.क.। शुभ साउँद सँगको संवाद सकिए पछि कवि आफ्नै काममा लागे । त्यसको करिब १ घण्टा पछि कविको मोबाइलमा घरबाट भतिज सुशीलको फोन आयो । “अङ्कल कमल अङ्कलले ट्याक्टर लगेर गइहाले ।” भतिज बोल्यो । “ड्राइभर छैन, किन दिएको त ? नलैजा भन्नु पर्दैन ? मलाई फोन गर्न लगाउनु पर्दैन ?” कविले प्रश्न गरे । “बाजे ( कविका बाबु) ले नाइँ त भन्या हुन । ड्राइभर म सँग छ भनेर आफै चाबी निकालेर लैगे त के गर्नु ।” भतिजको जवाफ आयो, कविले फोन काटे ।  

कविका अनुसार कमल साउँद उनका पूर्व ट्याक्टर चालक हुन । ट्याक्टर कहाँ हुन्छ । चाबी कहाँ हुन्छ । घरका अन्य सामान के कहाँ छ सबै कुरा उनलाई थाहा हुन्छ । उनी घरका सदस्य जस्तै हुन । कवि भन्छन्,… “हामी सँग भएका सबै चिज मर्दा पर्दा त चाहिने हुन नि । कमल पनि पहिला त्यही ट्याक्टर चलाएका मान्छे हुन । फेरी आफै चाबी निकालेर लगेपछि मैले नाइँ की नाइँ भन्न सकिन ।”  

कार्तिक २ गते मलामी जानु पर्ने थियो वडा नम्बर ४ कै हर्क साउँदको । शव यात्राका लागि गाउँपालिकाको शव वाहन थियो भने मलामी बोक्न तयार भयो कविको सुप प्र ०१–००२ त ४९५१ नम्बरको ट्याक्टर । कविको घरबाट आफै ट्याक्टर लिएर आएका कमल साउँदले मलामी बोक्दा चाहिँ स्थानीय देव बोहरालाई चलाउन दिए । मलामी लिएर कर्णाली चिसापानी जाँदै गरेको सोही ट्याक्टर लम्किचुहा नगरपालिका अन्तर्गत पर्ने धोबिनी खोलामा दुर्घटना भयो । दुर्घटनामा ४७ वर्षीय दानबहादुर साउँद, ३४ वर्षीय हर्क साउँद र १६ वर्षीय शीतल साउँद गरी ३ जनाको घटना स्थलमै ज्यान गयो भने ४ जना गम्भीर घाइते भए ।  

अहिले कविको ट्याक्टर प्रहरीको नियन्त्रणमै छ भने उनलाई प्रहरीको पक्राउ पुर्जी छ । उनी विरुद्ध मृतक र घाइतेहरूले क्षतिपूर्ति माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । कविका अनुसार ३ जना मृतकका आफन्त र एक जना घाइते गरी ४ जनाले जनही ३ लाखका दरले क्षतिपूर्ति माग गरेका छन् । कवि भन्छन्,.. “मैले भाडा लिएर ट्याक्टर पठाएको हैन । मैले आफै लैजाऊ भनेको पनि होइन । ड्राइभर छैन नाइँ भन्दाभन्दै घरबाट आफै ट्याक्टर निकालेर लिने र पल्टाइदिने, फेरी मै सँग क्षतिपूर्ति माग्ने यो कस्तो समाज हो ? कस्तो मानसिकता हो ? यो घटनाले गर्दा भोली कोही म¥यो भने मलामी जाने ट्याक्टर पाउँछ त ?” 

कविले भने अनुसार घटनाको प्रकृति हेरेर घाइते मध्येका सीँगे साउँद, भीम बहादुर रोकाया र अर्का एक जनाले उपचार खर्च नलिने बताएका छन् भने अर्का एक घाइतेका बाबु चन्द्र साउँदले साढे तीन लाख उपचार खर्च माग गरेका छन् । गाडी दुर्घटना हुँदा चालक पक्राउ पर्नु, मालिक पक्राउ पर्नु, छानबिन हुनु, दोषीलाई कारबाही हुनु यी सबै कानुनी प्रक्रिया भए पनि घटनाको प्रकृति र मानवीयता हेरेर पीडितहरूले क्षतिपूर्ति माग गर्न नहुने कविको तर्क छ । 

“उहाँहरूलाई धेरै पिडा छ, त्यो म बुझ्छु तर म पनि त पिडामा छु । कमाइखाने भाँडो प्रहरीमा छ । यता क्षतिपूर्ति मागेका छन् । लौ, व्यवहारिक रूपमा प्रतिव्यक्ति एक लाख वा डेढ लाख सम्म पनि ठिकै हो । म पनि तयार नै थिए तर १२ लाख रुपैयाँ त्यो पनि नगद कहाँबाट ल्याऊ म ।” उनले भने । 

कानुनी पाटोमा आफू कमजोर भए पनि व्यवहारिक र घटनाको प्रकृति अनुसार विवाद मिलाइदिन उनी विभिन्न व्यक्तिहरू गुहारिरहेका छन् । आफूलाई सम्पर्क गर्ने तथा अनुमति बेगर घरबाट ट्याक्टर लिनेहरूले पनि विवाद समाधानमा सहजीकरण नगरिदिएको पीडा उनीमा छ ।