सहारा घरका नानीहरूले जब “मेरो बाबा सुपर म्यान” गीत गाए, त्यो केवल एउटा प्रस्तुति रहेन त्यो अभाव, पीडा र नदेखिएको मायाले भरिएको चिच्याइरहेको आवाज बन्यो।
सहारा घरको १०औँ स्थापना दिवस तथा सेवाकर्मीको १२औँ वार्षिकोत्सवको अवसरमा सोमबार बौनियामा आयोजित कार्यक्रममा गुन्जिएको यो गीतले नानीहरूको काँपिएको स्वर, बाबाको माया खोज्ने आँखाभरि सपना र अधुरोपनलाई एकैसाथ उजागर गर्यो। उपस्थित सबैका मन चिसो आँसुमा डुब्यो।
मञ्चमा उभिएर अतिथिहरूको स्वागतको लागि गीत गाइरहेका नानीहरूका लागि ‘सुपर म्यान’ कुनै कल्पनाको पात्र थिएन। उनीहरूका लागि सुपर म्यान भनेको अभावमा पनि साथ दिने, टुटेको आत्मविश्वासलाई थाम्ने र हरेक दिन आशाको हात समातेर अघि बढ्ने अधुरो चाहना थियो। गीतका शब्दसँगै नानीहरूको स्वर काँपिरहँदा, दर्शक दीर्घामा बसेकाहरूले उनीहरूको मौन पीडा स्पष्ट देखे बाबाको माया, पहिचान र सुरक्षा खोज्ने बाल मनको करुण पुकारले भावुक बने ।
कार्यक्रमले सहारा घरमा आश्रित नानीहरूको अर्को गहिरो समस्या पनि उजागर गर्यो जन्म दर्ता विहीनताको पीडा । जन्म दर्ता नहुँदा उनीहरू शिक्षा, स्वास्थ्य सेवा, नागरिक पहिचान र भविष्यका अवसरहरूबाट वञ्चित हुने जोखिममा छन्। कानुनी पहिचान नहुँदा जीवनका आधारभूत अधिकारसम्म पुग्न नसक्नु यी नानीहरूको दैनिक यथार्थ बनेको छ। गीतको भावनाले छोएको क्षणमै यो कटु सत्य झनै तीव्र रूपमा महसुस गरियो।

सहारा घरका अध्यक्ष बलबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि लगायत सरोकारवालाको उपस्थिति थियो। उनीहरूले सहारा घरले विगत एक दशकदेखि अभिभावकविहीन तथा जोखिममा परेका नानीहरूको संरक्षण, शिक्षा र जीवन रक्षामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै, जन्म दर्ता लगायत आधारभूत अधिकार सुनिश्चित गर्न स्थानीय तहले सहकार्य बढाउने प्रतिबद्धता जनाए।
सहारा घरका नानीहरूको गलाबाट गुन्जिएको “मेरो बाबा सुपर म्यान” ले त्यो दिन एउटा प्रश्न पनि छोडेर गयो । यी नानीहरूको सुपर म्यान को बन्ने? गीत सकियो, ताली बज्यो, तर नानीहरूको आँखामा देखिएको सपना र पीडा अझै सकिएको छैन । सहारा, पहिचान र अधिकारको खोजीमा रहेका यी नानीहरूका लागि राज्य, समाज र सबैले अब शब्दभन्दा व्यवहारमा सुपर म्यान बन्ने समय आएको छ। किनकि सहारा घरका नानीहरूको पीडा अझै जारी छ। उनीहरू आज पनि एउटा नाम, एउटा पहिचान र एउटा सुरक्षित भविष्यको प्रतीक्षामा छन्।





Comments
Latest Comments