नेपालमा २०४६ सालको जनआन्दोलन पछि बहुदलीय व्यवस्थाको थालनी भयो । त्यसैको परिणाम स्वरूप २०४८ सालमा दोस्रो आम निर्वाचन भयो । पहिलो आम निर्वाचन भने २०१५ सालमा भएको थियो । त्यस यता घोडाघोडी क्षेत्रले आफ्नो भूगोलको स्थानीय पहिचान बोकेको प्रतिनिधि तथा उम्मेदवार पाएको थिएन ।

साबिक दरख, साडेपानी, पहलमानपुर र रामशिखरझाला गाउँ विकास समिति मिलेर हालको घोडाघोडी नगरपालिका बनेको छ । यो क्षेत्र हाल कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा पर्दछ । लामो समय देखी बाहिरी क्षेत्रका उम्मेदवारलाई समर्थन गर्दै आएको यस क्षेत्रले आगामी फागुन २१ मा हुने निर्वाचनमा भने स्थानीय पहिचान बोकेको उम्मेदवार पाएको छ ।

२०४८ सालमा भएको दोस्रो आम निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार थिए, राम जनम चौधरी । उनी साबिक जोशीपुर गाविसका बासिन्दा हुन । नेकपा एमालेबाट उम्मेदवार बनेका हनुमान चौधरी पनि साबिक जोशीपुर गाविसकै बासिन्दा हुन भने राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा) बाट साबिक भजनी गाविसका स्थानीयवासी मोहनराज मल्ल उम्मेदवार थिए । त्यस बखत नेपाली काँग्रेसका राम जनम चौधरी निर्वाचित भए ।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि घोडाघोडी क्षेत्रले आफ्नो भूगोलको उम्मेदवार पाएन । त्यस निर्वाचनमा पनि २०४८ सालकै उम्मेदवारहरू दोहरिए भने निवार्चनको नतिजा पनि दोहरिएर आयो । यस पटक पनि नेपाली काँग्रेसले आफ्नो विरासत जोगायो । राम जनम चौधरी दोस्रो पटकका लागि निर्वाचित भए ।

२०५६ सालमा भएको अर्को निर्वाचनमा नेपाली काँग्रेसबाट साबिक धनगढी नगरपालिकाका स्थानीयवासी पुष्करनाथ ओझा उम्मेदवार थिए भने नेकपा एमालेबाट साबिक हसुलिया गाविसका स्थानीय चक्र डगौरा उम्मेदवार थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा) बाट साबिक भजनी गाविसकै मोहनराज मल्ल दोहरिए । नतिजा यस पटक पनि नेपाली काँग्रेसकै पक्षमा आयो, पुष्करनाथ ओझा निर्वाचित भए ।

२०६४ सालमा देशको पहिलो संविधान सभा निर्वाचन भयो । यो निर्वाचनमा पनि घोडाघोडी क्षेत्रले भूगोलको उम्मेदवार पाएन । त्यस बखत नेपाली काँग्रेसबाट नारायणदत्त मिश्र उम्मेदवार बने । उनी साबिक जोशीपुर गाविसका बासिन्दा थिए । निर्वाचनमा नेकपा एमालेले अघिल्लो ‐२०५६ सालको) निर्वाचनका उम्मेदवार चक्र डगौरालाई अघि सारेको थियो भने पहिलो पटक निर्वाचनमा सहभागी हुन थालेको नेकपा माओवादीले साबिक मसुरिया गाविसका स्थानीय कृष्ण कुमार चौधरी ‐कुन्दन) लाई उम्मेदवार बनायो । यो पटकको निर्वाचनले भने यस क्षेत्रमा नेपाली काँग्रेसको विरासत ढलायो । नेकपा माओवादीका उम्मेदवार चौधरी निर्वाचित भए ।

देशमा २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन भयो । यस निर्वाचनमा नेकपा माओवादीले गौरीशङ्कर चौधरीलाई उम्मेदवार बनायो । उनी साबिक हसुलिया गाविसका स्थानीय हुन । यस्तै नेपाली काँग्रेसले पनि साबिक हसुलिया गाविसका स्थानीय खेमराज चौधरीलाई उम्मेदवारका रूपमा अघि सारेको थियो भने नेकपा एमालेले साबिक मसुरिया गाविसका स्थानीय दीर्घ सोडारीलाई उम्मेदवार बनायो । यस पटक पनि माओवादीले आफ्नोे विरासत जोगायो, गौरीशंकर चौधरी निर्वाचित भए ।

त्यसपछि देश सङ्घीय संरचनामा गयो । २०७४ सालमा सङ्घीयता कार्यान्वयन पछिको पहिलो निर्वाचन भयो । यस निर्वाचनमा नेपाली काँग्रेसले यस अघि यसै क्षेत्रबाट २ पटक ‐२०४८ र २०५१ मा) निर्वाचित भएका जोशीपुर गाउँपालिकाका स्थानीय राम जनम चौधरीलाई फेरी उम्मेदवार बनायो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रियाबाट भने नेपाल कम्युनिस्ट पार्टी ‐नेकपा) जन्मियो । नेकपाले यस पटकको निर्वाचनमा पनि यस अघि निर्वाचित कैलारी गाउँपालिकाका स्थानीय गौरीशङ्कर चौधरीलाई उम्मेदवारका रूपमा अघि सा¥यो । एकतामा बल हुन्छ भने झैँ यस पटक नेकपाका गौरीशङ्कर चौधरी निर्वाचित भए । नेपाली काँग्रेसले यस पटक पनि आफ्नोे इतिहास दो¥याउन सकेन ।

२०७९ सालमा फेरी प्रतिनिधि सभा निर्वाचन भयो । यहाँ सम्म आइपुग्दा जोडिएको नेपाल कम्युनिस्ट पार्टी ‐नेकपा) चुँडिएर एमाले र माओवादी पुरानै कित्तामा पुगिसकेका थिए । यस पटक एमाले र माओवादीको नत एकता थियो नत गठबन्धन नै थियो । लगातार ३ पटक ‐२०६४, २०७० र २०७४ को निर्वाचनमा) हार बेहोरेको नेपाली काँग्रेसले यस पटक भने नेकपा माओवादी केन्द्र सँग गठबन्धन ग¥यो ।

सोही अनुसार यस अघि ‐२०६४ मा) निर्वाचित गौरीगङ्गा नगरपालिकाका स्थानीय कृष्ण कुमार चौधरी ‐कुन्दन) माओवादी र काँग्रेसका साझा उम्मेदवार बने । एमालेले भने यस अघि माओवादी केन्द्रबाट २ पटक ‐२०७० र २०७४ मा) निर्वाचित गौरीशंकर चौधरीलाई उम्मेदवार बनायो । विगतमा माओवादी पृष्ठभूमिका चौधरी नेकपा विभाजन पछि भने एमालेको कित्तामा उभिएका थिए ।

यस पटक अर्को वैकल्पिक शक्तिका रूपमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको लहर थियो । यसले पनि भजनी नगरपालिकाका स्थानीय गंगाराम चौधरीलाई उम्मेदवार बनायो । भौगोलिक हिसाबले ६ पटकको निर्वाचन सम्म आफ्नो स्थानीय पहिचानको उम्मेदवार नपाएको घोडाघोडी क्षेत्रले यस ‐७औँ) पटकको निर्वाचनमा पनि ठुला दलबाट उम्मेदवार पाएन । राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा) को हकमा भने २०७० सालबाट घोडाघोडी क्षेत्रकै स्थानीय वीरेन्द्र बम निरन्तर उम्मेदवार बन्दै आएका छन् ।

यस निर्वाचनमा विगतको आफ्नो विरासत जोगाउने माओवादीको लक्ष्य पुरा भएन भने माओवादी पृष्ठभूमिका उम्मेदवार उठाएर नयाँ इतिहास रच्ने एमालेको सपना समेत अधुरो रहन गयो । यस पटक वैकल्पिक शक्तिका रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भए ।

२०८३ सम्मको जनादेश पाएका सांसदहरूको कार्यकाल जेन्जी आन्दोलनका कारण छोटिएपछि फागुन २१ मा पुनः निर्वाचन हुँदै छ। लगातार ७ औँ निर्वाचन सम्म परिणाममुखी ठुला दलबाट आफ्नो स्थानीय उम्मेदवार नपाएको घोडाघोडी क्षेत्रले २०८२ को निर्वाचनमा भने इतिहासमै पहिलो पटक भूगोलको उम्मेदवार पाएको छ ।

नेपाली काँग्रेसले यस पटक घोडाघोडी नगरपालिकाकै स्थानीय भीम बहादुर बडूवाललाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले यस अघि २ पटक निर्वाचित गौरीशंकर चौधरीलाई उम्मेदवार बनाएको छ भने एकता प्रक्रियाबाट बनेको ‐माओवादी केन्द्र समाजवादी, नागरिक उन्मुक्ति लगायत अन्य दलहरू) नेपाली कम्युनिस्ट पार्टी ‐नेकपा) ले कैलारी गाउँपालिकाका स्थानीय वीरमान चौधरीलाई उम्मेदवार बनाएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टी नेपालले भजनी नगरपालिकाका स्थानीय विक्रम चौधरीलाई उम्मेदवारका रूपमा अघि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ‐रास्वपा) ले घोडाघोडी नगरपालिकाका स्थानीय जगत जोशीलाई अघि सारेको छ । जोशी यस अघिका विभिन्न निर्वाचनमा समेत उम्मेदवारका रूपमा देखिने व्यक्ती हुन । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा) ले फेरी पनि स्थानीय वीरेन्द्र बमलाई नै उम्मेदवार बनाएको छ ।

यस निर्वाचन क्षेत्रमा अघिल्लो अर्थात् २०७९ को निर्वाचनलाई हेर्ने हो भने नागरिक उन्मुक्ति पार्टीका २१ हजार ५४९ मत हुन । यद्धपी यस पटक नागरिक उन्मुक्ति पार्टी ‐ढकिया) नेकपामा समाहित भएको छ भने नागरिक उन्मुक्ति पार्टी नेपाल ‐जाँतो) ले आफ्नो उम्मेदवार उठाएको छ । यस्तै गत निर्वाचनमा नेपाली काँग्रेसले १० हजार ७ मत प्राप्त गरेको छ भने माओवादीले ८ हजार ४१६ मत प्राप्त गरेको छ । नेकपा एमालेले ७ हजार ५३१ मत प्राप्त गर्दा रास्वपाले ३ हजार ८२१, राप्रपाले ३ हजार ३९२ र समाजवादीले २ हजार ६६१ मत प्राप्त गरेका थिए ।