शिक्षाको ज्योति छर्नुपर्ने पवित्र थलो विद्यालयमा आज स्वार्थ समूहको भर्ती केन्द्र र भ्रष्टाचारको अखडा बन्नु अत्यन्तै पीडादायी विषय हो। एउटा आदर्श विद्यालयमा विद्यार्थीको चाप, गुणस्तरीय पठनपाठन र स्रोतको सही सदुपयोग हुनुपर्ने हो। तर, दुर्भाग्यवश! आज धेरै विद्यालयहरूको यथार्थ ठ्याक्कै उल्टो देखिएको छ।
कक्षाकोठामा विद्यार्थी छैनन्, शैक्षिक गुणस्तर दयनीय छ, तर त्यही विद्यालयमा कर्मचारीको सङ्ख्या भने अस्वाभाविक रूपमा बढ्दै जानुले विद्यालय व्यवस्थापन समितिको नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ। विद्यालय व्यवस्थापन समिति र कर्मचारी प्रशासनको यो अघोषित मिलेमतोले शैक्षिक सुधारलाई होइन, बरु भ्रष्टाचार र बजेट सिद्ध्याउने खेललाई प्रश्रय दिएको छ। नयाँ समिति आउनासाथ विद्यालयको शैक्षिक स्तर कसरी सुधार्ने भन्ने चिन्ता गर्नुको साटो कुन बहानामा आफ्ना मान्छे भर्ती गर्ने र कसरी बजेटको भागबन्डा मिलाउने भन्ने तर्फ लाग्नु विडम्बनापूर्ण छ।
नामका लागि जिम्मेवारी लिने तर कामको नाममा समाजको विश्वास र विद्यार्थीको भविष्यमाथि निर्मम प्रहार गर्ने यस्ता तत्त्वहरू नै आज सकारात्मक परिवर्तनका बाधक बनेका छन्। भ्रष्टाचारको यो जालोलाई ढाकछोप गर्न अनेकौँ प्रपञ्च रचिए पनि सत्य धेरै दिन लुक्न सक्दैन। अब समाजले केवल गुनासो गरेर मात्र पुग्दैन, सक्रिय निगरानी र कडा जबाफदेहिताको माग गर्ने बेला आएको छ। विद्यालयको हरेक रकमको खर्च र कर्मचारी नियुक्तिको पूर्ण लेखा-जोखा सार्वजनिक गरिनुपर्छ।
पदको दुरुपयोग गरी भ्रष्टाचारमा लिप्त हुनेहरू जो-कोही भए पनि उनीहरूलाई कानुनी र सामाजिक रूपमा कडा भन्दा कडा सजायको दायरामा ल्याउनु अपरिहार्य भइसकेको छ। यदि विद्यालयमा वास्तविक पारदर्शिता र शैक्षिक सुधारको ग्यारेन्टी गरिँदैन भने, सचेत नागरिक समाजले अब टुलुटुलु हेरेर बस्ने छैन। विद्यालयलाई व्यक्तिको कमाऊ धन्दा बनाउनेहरूले बुझुन् अबको पुस्ता सचेत छ र आफ्नो अधिकार खोसेर लिन तयार छ।

लेखक घोडाघोडी क्लबका अध्यक्ष हुन । उनी खेलकुदका माध्यमबाट समाज रुपान्तरणको अभियान चलाइरहेका छन् ।





Comments
Latest Comments