चैत/वैशाखको रापिलो घाममा बुटकौवाका खेतहरू धुलाम्मे छन्। आकाशतिर हेरेर पानीको प्रतीक्षा गर्नु किसानको नियति नै हो, तर आफ्नै खेतको छेउमा ठडिएका सिँचाइका भौतिक संरचना देख्दा यहाँका किसानको मन पानी नपाएर होइन, विडम्बनाले तिर्खाउँछ।

करिब १० वर्षअघि जब १ करोड १५ लाखको लागतमा दानुवाफाटा सिँचाइ आयोजना सुरु भयो । कैलालीको बर्दगोरिया गाउँपालिका–३ का किसानहरूले सोचेका थिए । “अब कुलोमा पानी मात्र होइन, गाउँमा समृद्धि पनि बग्नेछ।” तर, समयले यस्तो कोल्टे फेर्यो कि आज त्यो सवा करोडको लगानी केवल सिँचाइको चिहान बनेको छ, जहाँ उत्साहको सट्टा निराशाका झाडीहरू पलाएका छन्।
२०७२ सालमा साना सिँचाइ प्रणाली विकास तथा सुधार परियोजना (CIP) को १ करोड र स्थानीयको १५ लाख लागत साझेदारीमा दानुवाफाटा सिचाइ आयोजना बन्यो । ठेकेदार डम्मर बिष्टले ठेक्का पाए र धमाधम सिमेन्टका संरचना बने। खेतसम्म पानी पुर्याउन ठुलै तामझाम गरियो। तर, जब पानी छोड्ने बेला भयो, तब थाहा भयो, इन्जिनियरिङको कस्तो भद्दा ठट्टा गरिएको रहेछ ! काँडा नदीको सतह आयोजनाको कुलोभन्दा निकै तल थियो। भूगोल र सतहको सामान्य अध्ययनसमेत नगरी बनाइएको त्यो संरचनाले नदीको पानी तान्न सकेन।

अपेक्षा अनुसार काम नहुँदा स्थानीय किसान चक्रराज जोशीको मन कुँडिएको छ । उनी भन्छन्,… “हामीले त सोचेका थियौँ, घरै अगाडि नहर आउँछ, दुःखका दिन सकिन्छन्। तर सवा करोड सकिँदा पनि खेतमा एक थोपा पानी झरेन। यो त हामी किसानमाथि गरिएको ठुलो अन्याय हो। सिचाइको नाममा आएको बजेट सकियो, हाम्रो सपना मात्रै रित्तियो।”

विडम्बनाको शृङ्खला यतिमा मात्र रोकिएन। एउटा निकायले करोडौँ खर्चेर बनाएको संरचनालाई अर्को निकायले कति सम्मान गर्छ भन्ने नमुना त्यसपछि देखियो। वडाले रिङ रोड निर्माण गर्ने क्रममा ती करोडौँका सिँचाइ चेम्बरहरूमाथि निर्दयी भएर डोजर चलायो। एकातिर सिँचाइ नभएर किसान छटपटाइरहेका थिए, अर्कोतिर राज्यकै बजेटले ठड्याएका संरचनाहरू राज्यकै अर्को डोजरले धुलो पिठो बनाउँदै थियो।

२०७४ सालमा स्थानीय सरकार आएपछि आयोजना ब्युँताउन थप ४ लाख रुपैयाँ खर्च गरियो। तर, मरिसकेको आयोजनामा त्यो लगानी केवल काजक्रिया खर्च जस्तै बन्यो। २०७८ सालपछि नजिकै अर्को डिप बोरिङ सञ्चालनमा आएपछि यो करोडौँको आयोजनालाई सबैले बिर्सिए। अब त उपभोक्ता समिति समेत यसलाई सम्झिन चाहँदैन।
उपभोक्ता समितिका सचिव चक्र विष्टको कुरा सुन्दा लाग्छ, यो आयोजना अब इतिहासको एउटा नमिठो पाना मात्र हो। उनी भन्छन्,… “अहिलेको अवस्थामा यो अलपत्र सिँचाइ आयोजनाका बारेमा सोच्नु नै बेकार छ। संरचनाहरू भत्किसके, झाडीले ढाकिसक्यो। अब यसलाई ब्युँताउन सकिने अवस्था छैन, त्यसैले पुरानो कुरा गरेर केही फाइदा छैन।”

आज बुटकौवा पुग्दा सिँचाइका पाइपहरू कतै माटोमा पुरिएका छन् त कतै झाडीले ढाकिएका छन्। प्राविधिक अध्ययन बिनाको योजना, ठेक्का प्रणालीको चरम लापरबाही र सरकारको बेवास्ताले गर्दा प्रतिफल विहीन बजेट कसरी स्वाहा पारिन्छ भन्ने यो एउटा ज्युँदो प्रमाण हो।
किसानहरू आज पनि त्यही प्रश्न सोधिरहेका छन् । के ती संरचनाहरू केवल ठेकेदारको भुक्तानी र समितिको स्वार्थका लागि मात्र बनाइएका थिए ? झाडीमा परिणत भएको यो सवा करोडको हिसाब कसले दिने ? यो केवल एउटा आयोजनाको असफलता मात्र होइन, यो त राज्यले किसानमाथि गरेको एउटा भद्दा मजाक पनि हो ।





Comments
Latest Comments