काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को आयोजनामा ‘देवी‘ वृत्तचित्र प्रदर्शन यात्रा–२०२६ अन्तर्गत धनगढीमा बिहिबार चर्चित वृत्तचित्र ‘देवी‘ प्रदर्शन तथा दर्शक संवाद कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार बिहिबार (भोली) बिहान ८ बजे धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा वृत्तचित्र प्रदर्शन हुनेछ भने प्रवेश निःशुल्क रहनेछ।

वृत्तचित्र प्रदर्शन पश्चात दर्शक संवाद कार्यक्रम पनि हुने भएकाले सम्पूर्णको सहभागीताका लागि आयोजकले आग्रह गरेको छ।पत्रकार तथा फिल्ममेकर सुविना श्रेष्ठको निर्देशनमा बनेको ‘देवी’ सन २०२४ मा सार्वजनिक भएको ८० मिनेट लामो वृत्तचित्र हो। वृत्तचित्रले सशस्त्र द्धन्द्धका क्रममा १७ वर्षको उमेरमा पक्राउ परेकी देवी खड्काको संघर्षपूर्ण जीवनयात्रालाई केन्द्रमा राखेको छ। पक्राउ पछि यातना र यौन हिंसा भोगेकी खड्का पछि माओवादी विद्रोहमा सहभागी हुँदै नेतृ तथा सांसद समेत बनेकी थिइन। अहिले उनी द्धन्द्धकालिन यौनहिंसाबाट पीडित महिलाको न्याय र अधिकारका लागि आवाज उठाउँदै आएकी छन्।

‘देवी‘ ले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागीता जनाउनुका साथै नेपालमा समेत चर्चा र सम्मान प्राप्त गरेको छ। नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२४ मा यसले वेस्ट नेपाली वमन फिल्ममेकर विद्यामा विशेष सम्मान समेत प्राप्त गरेको थियो।

द्धन्द्धकालीन महिलामाथि भएका हिंसा र उनीहरुको न्यायको संघर्षलाई चलचित्रको माध्यमबाट समुदाय स्तरमा पुर्याउँदै संक्रमणकालीन न्याय, महिला अधिकार र पीडितको न्यायका विषयमा सार्वजनिक संवाद तथा वहस सृजना गर्ने उदेश्यले ‘देवी‘ वृत्तचित्र प्रदर्शन यात्रा–२०२६ को आयोजना गरिएको बताइएको छ।