राष्ट्रिय गौरवको आयोजना रानिजमरा कुलरिया सिचाई आयोजनाका प्रभावितहरु सँग छलफल गरिएको छ। कैलालीको बर्दगोरियाका आयोजना प्रभावितहरुको समस्या पहिचान, गुनासो सुनुवाई तथा प्रक्रियाका बारेमा बुधबार गाउँपालिकाले छलफल आयोजना गरेको हो।
छलफलमा लगानीकर्ता विश्व बैंकका तर्फबाट कार्यक्रम संयोजक प्रेमराज घिमिरे, ग्लोरिया मालिया नहमा, जनकराज पाठक, सुजता भण्डारी लगायतको सहभागिता रहेको थियो भने गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, प्रवक्ता एवम् वडा अध्यक्ष मिथुन गौतम, वडा अध्यक्ष गोविन्द विक सहित वडा नम्बर १ र २ का स्थानीयबासीहरुको समेत सहभागिता रहेको थियो।

छलफलमा सहभागी स्थानीयहरुले आयोजनाको समन्वय अभाव, मुअब्जा समस्या, राहत तथा क्षतिपुर्तिका विषयमा असन्तुष्टी देखाएका छन्। उनीहरुले मुअब्जा बढाउनु पर्ने तथा प्रति ऐलानी जग्गाका सवालमा गम्भीर बन्नु पर्ने माग गरेका छन्। “वडा नम्बर १ र २ लाई गाउँपालिकाले आवादी भनेर निर्णय गरेको छ भन्ने सुनेको छु।” छलफलमा सहभागी कौशल महत्तराले भने, “जग्गा किनबेच गर्दा आबादीको मुल्य अनुसार मालपोतमा महंगो कर तिर्नुपर्छ तर आयोजनाले कृषि भनेर सस्तो मुअब्जा दिन खोज्ने कुरा हामीलाई मान्य छैन्। यसमा पुनर्विचार होस। अर्को कुरा विद्धालय भएकाले राजकुला सामुदायिक वनको छेउदेखी केही दुरीमा नहर अण्डरग्राउण्ड गर्ने कुरामा भएको सहमती पनि नबिर्सनु होला।”

यस्तै छलफलमा सहभागी शेखर जोशीले प्रति ऐलानी जग्गाका सवालमा आयोजना मौन रहेको भन्दै असन्तुष्टि ब्यक्त गरे। “हामी ९० प्रतिशत नागरिक प्रति ऐलानी जग्गामा बसेका छौं। दर्ता जग्गाको हकमा सस्तै भएपनि मुअब्जा निर्धारण भएछ तर प्रति ऐलानीमा बस्ने हामी अब के हुन्छ भनेर चिन्तामा छौ। अर्को कुरा आयोजना होस वा वडा कार्यालय होस‚ जग्गा धनि संगको समन्वय अभाव भएको छ‚ यो राम्रो भएन।” उनले भने।
छलफलमा बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकाका आयोजना प्रभावित नागरिकको पक्षमा आफूहरु निरन्तर लागिरहेको बताए। “प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुअब्जा निर्धारण समितिले कती र कसरी मुअब्जा दिने भनेर निर्धारण गरेको छ। प्रति ऐलानीको हकमा पनि क्षतिपुर्ती दिनु पर्छ भनेर हामी लागेका छौ। यो फाईल मन्त्री परिषद्मा पुगेको छ। सायद अब केहि दिनमा मन्त्री परिषद्बाट निर्णय हुन्छ। यतिमात्र होइन सरकारले दिने मुअब्जा तथा राहतमा विश्व बैंकले पनि केही सहुलियत थप गरिदिनु पर्यो भनेर भनेका छौं। आयोजनाले हाम्रो कुरालाई सकारात्मक रुपमा लिएको छ।” उनले भने।

विश्व बैंकको तर्फबाट छलफलमा सहभागी भक्तराज पाठकले आयोजनाले प्रभावितलाई छुट्टै मुअब्जा तथा राहत दिने विषय सकारात्मक भएको भन्दै माथिल्लो तहमा कुरा राख्ने बताए। साथै उनले आयोजनाले प्रभावितहरुको पुनर्स्थापना र जिविकोपार्जनको सवालमा महत्वपुर्ण काम गर्ने उल्लेख गरे।
मुअब्जा निर्धारण समितिले बर्दगोरियामा खेत (कृषि), बाटोले छोएको, ग्राभेल बाटो भएको तथा कालोपत्रे सडक भएको अधारमा प्रति कट्ठा ७ लाख देखी २६ लाख सम्म मुल्य निर्धारण गरेको छ।


Comments
Latest Comments