संविधान दिवस २०८३ को अवसरमा कैलालीको घोडाघोडी नगरपालिका–१, पिपलडाँडामा आयोजित प्रथम पुरुष डबल बी–लेभल ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । घोडाघोडी ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा जोशीपुरका उमेश चौधरी र थम्मन चौधरीको जोडी प्रथम भएको छ । यस्तै बौनियाका पुष्प खनाल र पुष्प भण्डारीको जोडी द्वितीय भएको छ ।

प्रतियोगितामा टीकापुरका प्रेम सिंह ठकुरी र हर्षबहादुर सिंहको जोडी तथा अत्तरियास्थित बाहिनीका राम बहादुर कुँवर र लक्ष्मण बहादुर कुँवरको जोडी तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले २० हजार रुपैयाँ, द्वितीय हुने टिमले १२ हजार रुपैयाँ तथा तृतीय हुने दुवै टिमले चार–चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा कैलालीका विभिन्न स्थान सहित ४७ वटा टिमको सहभागिता रहेको घोडाघोडी ब्याडमिन्टन क्लबका अध्यक्ष मनोज सुनारले जानकारी दिए । अध्यक्ष सुनारका अनुसार संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताले स्थानीय स्तरमा ब्याडमिन्टन खेलको विकास तथा खेलाडीबीचको सम्बन्ध विस्तारमा समेत सहयोग पुगेको छ ।